काठमाडौं साउन, १०–
हरेक पटक जस्तै यो पटकपनि प्रहरीको बढुवा विवादको भुङ्रोमा फसेको छ । प्रहरी प्रमुख हुन नसकेका डीआईजी जयबहादुर चन्दलाई दोस्रो नम्बरमा एआईजी सिफारिस गरिएपछि यो पटकको विवाद छताछुल्ल भएको हो । एआईजी बढुवामा कुनै उजुरी परेको त छैन तर भित्रा भित्रै भुसको आगो भने बलिरहेको छ । एआईजी बढुवाको विषयलाई लिएर सत्तारुढ दलभित्रै विवादको अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा बढुवा समिति र गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले एआईजी बढुवामा आफूलाई झुक्याएको भन्दै आश्चर्यमा परेको स्रोतको भनाई छ । यदि चन्द पहिलो नम्बरमा बढुवा भएको भए आईजीपी प्रकाश अर्यालको लागि उनी टाउको दुखाईको बिषय बन्न सक्ने थिए । चन्दको
देउवासँग घनिष्ट सम्बन्धका कारण कुनै दिन देउवाले अर्याललाई हटाएर चन्दलाई आईजीपी बनाउने बलियो सम्भावना थियो । तर, अब चन्द २ नम्बरमा बढुवा भएपछि त्यो सम्भावना कम भएको छ । यही विषयलाई लिएर प्रधानमन्त्रीले गृहमन्त्री र आईजीपीलाई हप्काएका छन् । एआईजी बढुवाको बिषयलाई लिएर
गत हप्ता एक व्यवसायीको छोराको व्रतबन्ध पार्टीमा चर्काचर्की समेत भएको श्रोतको भनाई छ । सोल्टी होटलमा भएको एआईजी चन्दले बढुवाको फुली समेत नलाउने बताएका हुन् । उनले नियोजित रुपमा आफूलाई दोस्रो नम्बरमा धकेलिएको भन्दै उनका निकटस्थ कांग्रेस नेता रमेश लेखकसँग फुली नै नलगाउने घुर्की लगाएका थिए । प्रतिउत्तरमा नेता लेखकले पनि निर्णयबाट आफू चकित भएकाले प्रधानमन्त्रीसँग यसबारेमा कुरा गरिसकेको बताएका थिए । स्रोतका अनुसार देउवाले कसलाई एक नम्बर बनाउने भन्नेमा चासो देखाएका थिएनन्, त्यही मौका छोप्दै आईजीपी र गृहमन्त्रीले बमबहादुर भण्डारीलाई पहिलो नम्बरमा सिफारिस गरेका हुन् ।
यो सिफारिसले गृहसचिवकै समेत धोती खुस्किएको छ । उनै गृहसचिव लोकदर्शन रेग्मीले गत फागुन १ गते डीआईजीमध्ये चन्द सबैभन्दा उत्कृष्ट भएकाले उनलाई आईजीपी बनाउने प्रस्ताव क्याबिनेटमा पठाएका थिए । अहिले उनै रेग्मी अध्यक्षताको बढुवा सिफारिस समितिले चन्दभन्दा भण्डारीको कार्यक्षमता धेरै भएको भन्दै भण्डारीलाई पहिलो र चन्दलाई दोस्रो नम्बरमा सिफारिस गरेको छ । उता, तीन जना सिनियर प्रहरी अधिकारीले बढुवा सिफारिसविरुद्ध उजुरी समेत गरेका छन् । उजुरीसँगै यसपटकको बढुवा पनि विवादमा तानिएको हो । डीआईजी मधु पुडासैनी, एसएसपी सुभाषचन्द्र चौधरी र एसपी विभूतिराज पाण्डेले उजुरी गरेका हुन् ।