बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मेगा बैंक नेपाल लिमिटेड आठौँ बर्षमा प्रवेश

शनिबार, साउन ७ २०७४

काठमाडौ साउन ७
सातौं बर्ष पूरा गरी आठौँ बर्षमा प्रवेश गरेको अवसरमा आज शनिबार काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आयोजित बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गर्नुभयो । त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट सुरुवात भइसकेको जानकारी दिनुभयो । 
अध्यक्ष शाहले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया जारी रहेको भन्दै टुरिजमसँगको मर्जरपछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्ये पर्ने बताउनुभयो । चालू आर्थिक बर्षमा नै टुरिजमसँगको मर्जर प्रक्रिया सकिने उहाँले जानकारी दिनुभयो । ‘संघीयताको कार्यान्वयनसँगै नयाँ–नयाँ आर्थिक सम्भावना र चुनौतीहरु देखिन थालेका छन् । त्यसैले नयाँ शहरका रुपमा विकास भइरहेका हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग आसपासमा नयाँ सम्पर्क र सम्बन्ध विस्तार गर्ने योजना बनाएका छौँ ।,’ अध्यक्ष शाहले भन्नुभयो – ‘त्यसका लागि हामीले विज्ञहरुसँगको छलफलबाट पाँच बर्षे योजना तय गरेका छौँ ।’ आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्ने उहाँले बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आगामी आर्थिक बर्ष २० वटा नयाँ शाखा खोल्ने जानकारी दिनुभयो । स्थानीय निकायको चुनावले आर्थिक सम्भावनाका धेरै ढोका खोलेको भन्दै उहाँले नयाँ नगरपालिका र गाउँपालिकामा शाखा विस्तार गरिने जानकारी दिनुभयो  । 
सिइओ शाहले बैंकिङ क्षेत्र तरलताको अभावले गुज्रिए पनि बितेको बर्ष मेगा बैंकले राम्रो मुनाफा आर्जन गर्न सकेको बताउनुभयो । स्थापनाको पहिलो बर्षदेखि नै मेगा बैंकले नाफा आर्जन गरेको बताउँदै उहाँले आगामी बर्षदेखि मेगाको मुनाफा झनै बढ्ने बताउनुभयो ।
सिइओ शाहले शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको बताउनुभयो ।  
‘स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको छ । यसैगरी छोटो समयमै जनतामा आफ्नै बैंकको रुपमा छाप बसेको हामीलाई अनुभुति मिलेको छ ।’– उहाँले भन्नुभयो । बार्षिकोत्सवको अवसरमा सिइओ शाहले बैंक एस्योरेन्स योजना पनि घोषणा गर्नुभयो । मेगा बैंकका ग्राहकहरुले अब जीवन बिमा र निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सुविधा मेगा बैंकबाटै लिन सक्नेछन् । जीवन बिमाका लागि बैंकले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको छ भने निर्जीवन बिमाका लागि बिभिन्न कम्पनीहरुसँग सम्झौता गरेको छ । 
यसैबीच, वार्षिकोत्सवका अवसरमा बैंकले काठमाडौँको बौद्धमा संचालित ‘गरिब तथा अनाथ बालिका गृह’ लाई एक लाख रुपैँया आर्थिक सहयोग प्रदान गरेको छ ।  कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह र सिइओ अनिलकेशरी शाहले संस्थाका संस्थापक पूर्णमाया गुरुङलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । मेगा बैंकले बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई हरेक बर्ष सहयोग गर्दै आएको छ ।