असार २८, दाङ – मोबाइल चार्ज गर्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या भएको छ ।
तुल्सीपुर उपमहानगरपालिका–६ घोराही रोड स्थित भारत मोतीहारी जिल्ला आधापुर थाना विष्णु पुरवा घर भएका ४२ वर्षीय समिम अन्सारीको ११ वर्षीय छोरा शाहा पुदिन अन्सारीको हत्या भएको हो । अभियोगमा समिमको पसलमा काम गर्ने भारत मोतीहारी आधापुर थाना बरुवा गाँउ घर भएका १७ वर्षीय चाँद खान र सोही ठाउँ घर भएका १८ वर्षीय बावुल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
शाहा पसलमा मंगलबार बेहोस फेला परेकाले उपचारको लागि अंचल अस्पताल तुल्सिपुर लैजाने क्रममा शाहाको बाटोमै मृत्यु भएको थियो । शाहाको घाँटीमा निलडाम देखिएकोले समिमको पसलमा काम गर्ने खान र बावुललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मोबाइल चार्ज गर्ने विषयमा विवाद भएकाले कपडाले घाँटी थिचेर हत्या गरे पश्चात् शाहाका बाबुलाई छोरा बेहोश भएको भनि बताएको खुल्न आएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।