बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आर्थिक समृद्धिको आधार नै स्थानीय तह : उपप्रधानमन्त्री महरा

सोमबार, असार २६ २०७४

असार २६, चितवन – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताएका छन् । 

निर्वाचनसँगै आर्थिक समृद्धिको ढोका खुलेको र अहिले स्थानीय तहको बहुआयामिक भूमिका रहेको उनले बताए । 

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री महराले सोमबार
 चितवनस्थित रत्ननगर उद्योग वाणिज्य सङ्घको अठारौँ साधारणसभालाई सम्बोधन गर्दै तीनवटै तहको निर्वाचनपछि भने आर्थिक विकासले फड्को मार्ने विश्वास व्यक्त गरे । “समृद्धिको आधार भनेको गाउँ र नगरको विकास हो, स्थानीय निकायलाई पर्याप्त बजेट छ,” मन्त्री महराले भने – “समृद्ध गाउँ बनाउन अब सबै जुट्नुपर्छ ।” 

नेपालको संविधानले तीन खम्बे अर्थनीति अवलम्बन गरेको सन्दर्भ जोड्दै उनले नेपालमा साधन र स्रोतको कुनै कमी नभएको बताए । “हामी स्रोतसाधनमा धनी छौँ, राष्ट्रिय भिजन बनाउने हो भने अरू देशको तुलनामा नेपालमा छिटो विकास गर्न सकिन्छ”, मन्त्री महराले भने । 

पछिल्लो समयमा आर्थिक अनुशासनको परिपालनामा सुधार भइरहेको बताउँदै उनले लगानी मैत्री र आन्तरिक उत्पादनमा ध्यान दिन सकिए देश समृद्धितर्फ उन्मुख हुने विश्वास व्यक्त गरे । 
गत वर्ष बन्द भएका २०० उद्योग सञ्चालनमा आउनु समृद्धिका लागि सकारात्मक सन्देश भएको उनको भनाइ थियो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जिल्लाको आर्थिक अवस्था र औद्योगिक क्षेत्रका गतिविधिबारे जानकारी दिएका थिए ।