सरकारले जेठ ३१ गते तय गरेको दोश्रो चरणको निर्वाचन असार ९ गतेलाई सार्ने औपचारिक निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मदेशि दलहरुलाई निर्वाचनमा सहभागि गराउन पूर्व निर्धारित मिति परिमार्जन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
सरकारले जेठ ३१ गते मुस्लिम समुदायको मुख्य पर्व रमजान परेकाले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन १० दिन पछि पार्नु परेको पनि स्पष्ट पारेको छ । आइतबार साँझ भएको राजपासहितको प्रमुख दलको बैठकमा चुनाव सार्ने विषयमा समझदारी भएको थियो ।
सरकारले यसअघि नै दोस्रो चरणको स्थानीय तहको निर्वाचन केही समयपछि सार्न सकिने धारणा राख्दै आएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ प्रदेशमा सम्पन्न हुँदैछ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन बैशाख ३१ गते सम्पन्न भएको थियो ।