काठमाडौं जेठ १४
सगरमाथा फाईनान्सले फुङ्गलिङ्ग र फिदिममा शाखा सञ्चालन गरेको छ । फाईनान्सले एघारौं शाखाको रुपमा ताप्लेजुङ्ग स्थित फुङ्गलिङ्ग शाखाको उद्घाटन जेठ ११ गते संस्थाको संचालक माओ यालुङ्ग राई र संस्थाको संस्थापक तथा पूर्व राजदुत डा. नोवल किशोर राईले संयुक्त रुपमा रिबन काटेर गर्नुभएको हो ।
ताप्लेजुङ्ग जिल्लामा यसअघि कुनैपनि फाइनान्स कम्पनीको शाखा नरहेकोमा सगरमाथा यस जिल्लामा शाखा खोल्ने पहिलो फाइनान्स बन्न सफल रहेको छ । नेपालको सुदुरपूर्वमा रहेको यस जिल्लामा केहि समय अघिबाट मात्र बित्तिय संस्थाले कारोबार विस्तार गर्ने क्रम बढ्न थालेको छ । प्रसिद्ध पाथिभरा देवीको मन्दिर रहेको यस जिल्ला हाल यातायातको सुविधा भएको कारणले राम्रो धार्मिक र पर्यटकीय स्थल को रुपमा प्रख्यात भइरहेको छ । वर्षभरी नै हजारौंको संख्यामा पाथिभरादेवीको दर्शन गर्न नेपाल र भारतका विभिन्न क्षेत्रबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । त्यसैगरी जलविद्युतको क्षेत्रमा समेत यस जिल्लाको राम्रो संभावना रहेको छ ।
यसैगरी बाह्रौं शाखाकोरुपमा पाँचथरको फिदिम शाखाको उद्घाटन जेठ १२ गते संस्थाका संस्थापक तथा पूर्व राजदुत डा. नोवल किशोर राई र पाँचथर उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द ढकालले संयुक्त रुपमा रिबन काटेर गर्नु भयो । झापा देखि ताप्लेजुङ्ग जोडने मेची राजमार्ग पूर्ण रुपमा संचालनमा आए पछि यस क्षेत्रमा व्यापारिक गतिविधिहरुको विस्तार सँगै वित्तिय संस्थाहरु खोलिने क्रम समेत बढदै गएको छ । सगरमाथा फाइनान्स लि. को यस क्षेत्रमा भएको उपस्थितिले यस क्षेत्र र जिल्लाका जनताहरु थप लाभान्वित हुने विस्वास लिइएको छ । नेपालको सुदुरपूर्वमा रहेको यस जिल्लामा केहि समय अघिबाट मात्र बित्तिय संस्थाले शाखा विस्तार गर्ने क्रम बढ्न थालेको छ । कृषी र जलविद्युतको क्षेत्रमा यस जिल्लाको राम्रो संभावना रहेको छ ।
ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको सगरमाथा फाइनान्स लिमिटेडले ललितपुरको गाःबहाल, झापाको बिर्तामोड र दमक, सुनसरीको इटहरी र धरान, मोरङको विराटनगर, सोलुखुम्वुको सल्लेरी, ओखलढुङ्गाको ओखलढुङ्गा बजार, खोटाङको दिक्तेल, भोजपुरको भोजपुर बजार, ताप्लेजुङ्गको फुङ्गलिङ्ग, पाँचथरको फिदिम बजार र इलाम जिल्लाको इलाम बजारमा शाखा संचालनमा ल्याएको छ । फाईनान्सले एटिएम, शाखारहित बैकिङ, आस्वा, रेमिटेन्स लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।