सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँचै वर्ष सरकार चलाउने खुलासा गरेका छन् ।
नयाँ आठदलीय गठबन्धनले गत शुक्रबार राष्ट्रपति कांग्रेसलाई दिने सहमति गर्दैगर्दा तीन दलका प्रमुख नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको खबर बाहिरिएको थियो ।
यसैबीच गृहनगर सुर्खेत आएका कांग्रेस उपसभापति खड्काले बुधबार उक्त एग्रिमेन्टको खण्डन गर्दै कांग्रेसलाई राष्ट्रपतिमा सघाउने र प्रचण्ड पाँच बर्ष नै प्रधानमन्त्री हुने सहमति भएको बताए ।
माओवादीका अध्यक्ष प्रचण्डले अढाई वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने जनाईरहेको बेला उपसभापति खड्काले उक्त कुरा बताएका हुन् ।
उनले ८ वर्षअघि नै कुनै पनि सरकारमा मन्त्री नहुने जनाएकाले प्रचण्ड सरकारमा पनि सामेल नहुने बताए ।