काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको छ ।
प्रधानमन्त्री निवास वालुवाटार पुगेर राप्रपाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजीनामा बुझाएको हो ।
राप्रपाबाट प्रचण्ड सरकारमा उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका थिए ।
यता सरकारमा रहेको एमालेले भने २५ फागुनसम्म सरकार नछाडने निर्णय लिएको छ ।
आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार सम्मेलनमा भने ।