काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक बार्ता हुने भएको छ ।
अध्यक्ष प्रचण्डका अनुसार सो छलफल दिउँसो हुने भनिए पनि समय भने सार्वजनिक भएको छैन । नेकपा एसका नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडी सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल (जसपा) बिच भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लागेका हुन् ।
‘सबैसँग छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले सञ्चारकर्मीसँग बुधवार भने, ‘भोलि (आज) एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’
सो अघि बिहान नेपाली कांग्रेससँग बिहान ८ बजे छलफल हुने बुझिएको छ । एमालेका तर्फबाट भावी राष्ट्रपतिमा दुई जनाको नाम एमालेले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव गरिसकेका छन् । ओलीले उपाध्यक्ष शुवाष नेम्वाङ र विकल्पमा नेकपा एसका अध्यक्ष माधव नेपाललाई बनाउने प्रस्ताव गरेको समाचार आएका थिए ।