काठमाडौं । डेढ वर्ष अघि एमालेबाट छुट्टीएर बनेकाे नेकपा एस पुन एमालेमा समाहित हुने चर्चा चलेको छ ।
स्रोतका अनुसार दुवै पक्षबीच भएको वार्ता सकारात्मक भएको र छिट्टै पार्टी एकताको घोषणा हुने र राष्ट्रपतिमा एमालेका तर्फबाट माधवकुमार नेपाल उम्मेदवार बनाउने तयारी छ ।
राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको थियो । भेटमा एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गर्नेगरी छलफल अघि बढेको बुझिएको छ । माधव नेपाल पनि त्यसमा सकारात्मक भएका छन् ।
एमालेलाई कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा एमालेलाई माधवकुमार नेपाल नै ठिक हुने र एकतापछि समाजवादीका १० सांसद जोडेर संसदमा कांग्रेसकै हैसियतमा पुग्ने एमालेको रणनीति छ । जसकाकारण संविधानको धारा ७६ (३) मा जान पनि एमालेलाई सहज गराउँछ।
प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा काँग्रेससँग बराबर हुन्छ।
पुस १० को सहमति अनुसार प्रधानमन्त्री प्रचण्ड अघि नबढेसँगै एमाले अध्यक्ष ओलीले यस्तो रणनीति लिएका हुन् । जसका कारण प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत नैतिक संकट पर्ने देखिन्छ । पुस २६ मा प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वास मत दिएर माओवादीसँग नजिएको कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्ड तयार भइसकेको अवस्था छ । राष्ट्रिय सहमतिको नारा लगाउँदै आएका माओवादी त्यसमा पनि प्रचण्डलार्ई एमालेले सिफारिस गरेको माधव नेपाललाई ईन्कार गर्न अप्ठ्यारो पर्ने भएको छ ।
एमाले र एकीकृत समाजवादीका दोस्रो तहका केही नेता पनि माधव नेपाललाई एमालेको प्रस्तावमा वामपन्थी दलहरूका तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाएर पार्टी एकता गराउन सक्रिय छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पोलिटब्युरो सदस्य महेश बस्नेत तथा समाजवादीबाट नेताहरू सोमप्रसाद पाण्डे र किसान श्रेष्ठसहितका नेताहरू यसमा सक्रियतापूर्वक लागेका छन् ।
माधव नेपालमा सहमति नभए एमालेले विकल्पमा डा. बाबुराम भट्टराई र समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाम पनि अघि सार्न सक्ने बुझिएको छ ।