एजेन्सी, २२ वैशाख ।
फ्रान्समा राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार एमानुएल माक्रोंले उनका राष्ट्रवादी प्रतिद्वन्द्वी मारिन ल पेन विरुद्ध मुद्दा दायर गरेका छन्।
बुधबार ति दुई उम्मेदवारबीच चर्काचर्की परेको टेलिभिजन बहसका बेला ल पेनले माक्रोंलाई विदेशी बैंक खाता, अफशोर एकाउन्टमा पैसा लुकाएको आरोप लगाएकी थिइन्।
माक्रोंले आफ्नो सामान्यतया कर छलीको उद्देश्यले खोलिने त्यस्तो कुनै पनि गोप्य बैंक खाता नभएको बताउंदै आएका छन्। एमानुएल माक्रोंले आइतबार हुने दोस्रो चरणको मतदानअघि आयोजित अन्तिम टेलिभिजन बहसमा अग्रता हासिल गरेको भन्ने चर्चा भैरहंदा त्यस्तो समाचार आएको हो।
एएफपी समाचार एजेन्सीसंग कुरा गर्दै माक्रोंका एकजना सहयोगीले भने, ‘गलत समाचार फैलाउने जो कसै विरुद्ध मानहानी र गाली बेइज्जतीको मुद्दा दायर गर्न हामी हिच्कीचाउने छैनौं।’ बुधबार रातीको टेलिभिजन बहसका बेला मारिन ल पेनले इन्टरनेटमा माक्रों विरुद्ध चलिरहेको हल्लाहरुको उल्लेख गरेकी थिइन्।
एमानुएल माक्रोंले क्यारीबीयन क्षेत्रमा रहेको नेभिस टापुमा कर छलीको उद्देश्यले एउटा देखावटी कम्पनी खडा गरेको भन्ने आरोप सामाजिक संजालमा निकै चर्चित रहेको थियो। उनले त्यस्तो आरोपको कडा खण्डन गर्दै आएका छन्।
माक्रोंको चुनाव प्रचार टोलीका सदस्यहरुले भने, ‘यस्तो ुमनगढन्ते कहानी’ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थन गर्ने वेबसाइटहरुमा फैलाइएको थियो र रुसी स्वार्थहरुसंग सम्बन्ध भएका अन्य वेबसाइटहरुमा पनि त्यस्तो हल्ला फैलाइएको छ।’
अभियोजनकर्ताहरुले आइतबार हुने राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदानलाई प्रभावित तुल्याउने उद्देश्यले कतै फेक न्युज अर्थात नक्कली समाचार सिर्जना गरेर फैलाइएको हुनसक्ने सम्भावनाबारे अनुसन्धान गरिरहेका कानुनी सूत्रहरुले बताएकाछन्।
बुधबारको टेलिभिजन बहसमा आतंकवाद, अर्थतन्त्र र युरोपका विषयमा विभिन्न तर्कहरु गर्दै माक्रों र ल पेनले दुई घण्टा भन्दा बढी समय एकअर्काको अपमान गरेर बिताएका थिए।