काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् ।
सोमवार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हनु् ।
उनले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । उनले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताए ।
उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको श्रोत भएको बताए । उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभइ शहीदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने समेत बताए ।
उनले आज माघ १६ गते शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गरे ।