यो वर्ष नेपाल खाद्य संस्थान सग खाद्यान्नको मौज्दात अभाव हुने देखिएको छ ।खाद्यान्न आपूर्तिको जिम्मा लिएको सरकारी निकाय खाद्य संस्थानले लक्ष्यअनुसारको खरिद गर्न सकिरहेको विकट स्थानकरुमा खाद्यँन्नको अभाव हुने दिएको हो । जस आगामी वर्षको लागि ४० हजार मेट्रिक टन धान किन्ने लक्ष्य लिए पनि अहिलेसम्म २० हजार मेट्रिक टन मात्रै धान खरिद गरेको पाइएको छ । त्यस्तै चामललगायत अन्य वस्तु बिक्रीवितरणमा पनि खाद्य संस्थानभन्दा निजी व्यापारीको खाद्यान्नमा उपभोक्ताहरु आकर्षित हुने गरेको संस्थानले स्वीकार गरेको हो ।
संस्थान सरकारी मापदण्डबाट चल्नुपर्ने भएको कारण समस्या हुने गरेको खरिदबिक्री शाखा प्रमुख तथा प्रवक्ता शंकर सापकोटाले बताए । व्यापारीहरुले संस्थानले तोकेको मूल्यभन्दा बढी रकम दिएकोले किसानहरुले संस्थानलाई धान नबेचेको उनको भनाइ छ । ‘हामी सरकारको नीतिभन्दा बाहिर गएर कारोबार गर्न सक्दैनौं, त्यसकारणले बजारमा पनि हामीलाई समस्या हुने गरेको छ’, उनले भने, ‘हामीलाई एउटै रेटबाट खरिद गर्नुपर्ने बाध्यता छ, तर व्यापारीहरुले हाम्रोभन्दा बढी पैसा दिने गर्दछन् । त्यसकारण किसानहरुले हामीलाई धान बेच्न नै रुचाउँदैनन् ।’
आगामी वर्ष संस्थानले मौज्दात राख्नुपर्ने परिमाणको चामल पनि नहुने भएको छ । त्यसको लागि चामल खरिद गर्ने विचारमा संस्थान रहेको छ । किनेको २० हजार टन धान कुटाउने प्रकियामा रहेको संस्थानले जनाएको छ । संस्थानको राजापुर र जनकपुरमा आफ्नै मिल रहेको छ । बाँकी स्थानमा संकलन भएको धानको कुटानी कार्य त्यही ठाउँका मिलमा ठेक्कामा दिएको संस्थानले जनाएको छ । कुटानीपछि धानबाट ६२ प्रतिशत चामल बन्ने हुँदा २ लाख क्विन्टल चामलबाट एक लाख २४ हजार क्विन्टल चामल तयार हुन्छ ।
संस्थानले आफ्नो योजनाअनुसार अझै दुई लाख क्विन्टल किन्नुपर्ने हुन्छ तर धानको सिजन सकिएकोले अब धान किन्नसक्ने अवस्था छैन । बजारमा धानको मूल्य संस्थानले दिने मूल्यभन्दा बढी भएको हुँदा किसानले व्यापारीलाई धान बेचेका हुन् । संस्थानको अञ्चल कार्यालय धनगढीबाट प्रतिक्विन्टल २१ सय रुपैयाँमा ५० हजार क्विन्टल धान खरिद गरेको छ । नेपालगञ्जबाट मोटा र मध्यम धान क्रमशः प्रतिक्विन्टल २ हजार ५० र २ हजार १ सय ५० रुपैयाँका दरले ५० हजार क्विन्टल खरिद गरेको छ । राजापुरबाट मोटा मकवानपुर र मध्यम क्रमशः प्रतिक्विन्टल १ हजार ९ सय ५० र २ हजार २ सय ५० रुपैयाँमा धान खरिद गरेको संस्थानले जनाएको छ । संस्थानले भैरहवा, विराटनगर, बिर्तामोड, लहान, जनकपुर, वीरगञ्ज, महेन्द्रनगरबाट समेत धान संकलन गरेको छ । संस्थानले तोकेको मूल्यमा धान नपाउँदा कोटा नपुगेको सापकोटाले बताए ।