बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बढ्यो दाहाल–देउवाको मतभेद

आइतबार, बैशाख १७ २०७४

काठमाडौं, १७ वैशाख ।

सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ। प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता हस्तान्तरणको विषयले प्राथमिकता पाउँदा ती दलबीच मतभेद बढेको हो।

संविधान संशोधन विधेयकलाई पारित गर्न विभिन्न विकल्पमा छलफलमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच शनिबार साँझ विधेयक पारित गराई दुई चरणको घोषित निर्वाचन गराउने विषयभन्दा सत्ता हस्तान्तरणले प्राथमिकता पाएपछि दुई नेताबीच भनाभनसमेत भएको स्रोतको दाबी छ। संशोधन, दुई चरणको निर्वाचन र बजेट सार्वजनिक तालिकाप्रति असन्तुष्ट प्रमुख प्रतिपक्षी एमालेलाई मनाउन अध्यक्ष केपी ओलीनिवास बालकोट पुगेर फर्किएलगत्तै देउवाले स्थानीय तह निर्वाचनलगत्तै सत्ता नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री दाहाल आक्रोसित बनेका हुन्।

स्रोतका अनुसार देउवाले दुई चरणमा घोषणा गरिएको निर्वाचन तालिका परिमार्जन गर्न र निर्वाचनलगत्तै पूर्वसहमतिअनुसार प्रधानमन्त्रीबाट राजीनामा दिन भनेपछि दाहाल–देउवाबीच भनाभन भएको हो। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलासहित प्रधानमन्त्री भेट्न पुगेका देउवालाई दाहालले निर्वाचनमा सहमति नजुटेसम्म आफूले सत्ता हस्तान्तरण गर्न नसक्ने बताएका थिए। यो खबर आजको राजधानी दैनिकमा छ।