बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आधा दर्जन पत्रकार आकांक्षी

शुक्रबार, बैशाख १५ २०७४

लमजुङ ,१५ वैशाख ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि आकांक्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकांक्षी देखिएका हुन् ।

प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाअन्तर्गत वडा नं ८ बाट अध्यक्षका लागि पार्टीमा उम्मेदवारी दिने भएका छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष एवम् नेपाल टेलिभिजनका लमजुङ प्रतिनिधि परमेश्वर अधिकारीले  कांग्रेसबाट सुन्दरबजार नगरपालिकाको मेयर पदको उम्मेदवारमा आकांक्षा देखाएका छन् । उनले पार्टीमा आन्तरिक उम्मेदवारीसमेत दिएका छन्  ।

यस्तै, प्रेस युनियनका अर्का सदस्य एवम् अन्नपूर्ण पोष्ट दैनिकका लमजुङ समाचारदाता दीपक अधिकारीले दोर्दी गाउँपालिका–१ को वडा सदस्यमा टिकट पाइसकेका छन्  । अधिकारीले वडा सदस्य जितेर जिल्ला समन्वय समितिमा आउने दाबी गरेका छन्  ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलले दोर्दी गाउँपालिकाको प्रमुख पदको उम्मेदवारमा आकांक्षा देखाएका छन्  । पौडेल हाल जिल्लास्थित रेडियो भोटेओडारको निर्देशक र मूलखबर अनलाइनमा आबद्ध छन् ।

प्रेस सेन्टरका जिल्ला अध्यक्ष रुद्रहरि ढकालले पनि स्थानीय तह निर्वाचनमा सुन्दरबजार नगरपालिका–८ को वडाध्यक्ष पदको उम्मेदवारका लागि पार्टीमा निवेदन दिएका छन् । उनी पनि जिल्लास्थित रेडियो भोटेओडारको व्यवस्थापक हुन्  ।

परिवर्तन सन्देश पत्रिकाका सम्पादक नारायण पौडेलले राइनास नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन्  । उनले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी गरेका हुन्  । सोही पत्रिकाका कार्यकारी सम्पादक एवम् प्रेस सोसाइटी लमजुङका जिल्ला अध्यक्ष वासुदेव थापाले मस्र्याङ्दी गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस्तै, पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष एवम् ‘लमजुङ दर्पण’ दैनिकका सम्पादक कृष्ण केसीले एमालेबाट बेसीसहर नगरापालिकाको प्रमुख पदका लागि आकांक्षा देखाएका तर उनले पार्टीमा आन्तरिक उम्मेदवारी दिएपनि पछि फिर्ता लिएका थिए।

सवैजनाले आन्तरिक पार्टीमा आकांक्षा व्यक्त गर्दै उम्मेदवारी दिए पनि उम्मेदवार टुंगो भने कसैको पनि भएको छैन । पार्टीमा आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार चुन्न सकस भएको छ ।