काठमाडौं, ६ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनाव दुई चरणमा गर्न राखेको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधवार जारी बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई चुनावमा सहभागि गराउन बैशाख ३१ गतेका लागि घोषित चुनाव दुई चरणमा गर्ने कि ? भनी प्रश्न गरेका थिए ।
एमालेले भने मधेसी मोर्चाका गतिविधि चुनाव हुन नदिनका लागि भएको स्पष्ट हुँदै गएकाले दुई चराण्मा चुनाव गरे पनि मोर्चा सहभागि नहुने भन्दै घोषित चुनाव मितिमा दायाँबायाँ नगर्न आग्रह गरेको छ । बैठकमा कार्यवाहक अध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सहभागि छन् ।
प्रधानमन्त्री दाहालले दुई चरणमा चुनाव गर्नेबारे छलफल गर्न नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक फोरम नेपाललाई बैठकमा बोलाएका थिए । ‘दुई चरणमा चुनाव गर्दा मोर्चा आउँछ भन्ने के ग्यारेन्टी छ ?’ एमाले कार्यबाहक अध्यक्ष गौतमको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘संविधान संशोधन भए पनि स्थानीय तहको चुनाव प्रदेश मातहतमा गर्ने भनिरहेकाहरु चुनावमा कसरी आउलान् ?’ बैठक जारी छ ।