काठमाडौँ – दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार बैंक तथा बित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे संसोधित कार्यबिधि सार्वजनिक गरेको हो । संसोधित कार्यबिधि गभर्नरबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउने राष्ट्र बैंकले जनाएको छ ।
कार्यबिधि अनुसार दैनिक तरलता सुविधा उपयोग गर्ने प्रक्रिया अन्र्तगत बैंकबाट सञ्चालित आर.टि.जि.एस. प्रणालीमा सहभागी संस्थाले मात्र दैनिक तरलता सुविधा उपयोग गर्न पाउने व्यवस्था रहेको छ । यसरी दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले कम्तीमा दुई जना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको निवेदन विभागमा पेश गर्नुपर्ने कार्यबिधीमा उल्लेख छ । दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले यस बैंकको मौद्रिक व्यवस्थापन विभागसँग दैनिक तरलता सुविधास म्बन्धी सम्झौता गर्नुपर्ने, दैनिक तरलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खातामा जम्मा गर्ने प्रयोजनका लागि धितो व्यवस्थापन खाता खोल्न राष्ट्र बैंकको बैंकिङ विभागमा निवेदन दिनु पर्ने छ । सोही निवेदनका आधारमा बैंकिङ विभागले प्रचलित लेखा निर्देशिका तथा बैंकिङ कार्य निर्देशिका बमोजिम निवेदक संस्थाको नाममा खाता खोली खाता नम्बर प्रदान गर्नेछ ।
दैनिक तरलता सुविधावापत उपयोग गर्नसक्ने अधिकतम सुविधा सीमा र अवधिको लागि संस्थाले मौद्रिक व्यवस्थापन विभागसँग भएको सम्झौता र बैंकिङ विभागबाट खोलिएको खाताको विवरण तथा धितो राखिने सुरक्षणपत्रको सक्कलै प्रति (ब्याज भुक्तानी पुर्जा भएका सुरक्षणपत्रको हकमा सो समेत) राखेर मौद्रिक व्यवस्थापन विभागमा निवेदन दिनुपर्ने छ । सोही निवेदनको आधारमा पेश भएका सुरक्षणपत्र रोक्का राखी मौद्रिक व्यवस्थापन विभागले धितो व्यवस्थापन खातामा सुविधा रकमको सीमा र अवधि निर्धारण गरी प्रचलित बैंकिङ प्रणालीमा प्रविष्ट गर्नुपर्ने छ ।
कार्यविधि अनुसार दैनिक तरलता सुविधामार्फत संस्थाले उपयोग गरेको रकम तोकिएको समय सीमाभित्र फरफारक हुन नसकेमा स्वीकृत सीमासम्मको रकम ओभरनाइट तरलता सुविधाका रूपमा गणना हुनेछ । यस्तो सुविधामा लाग्ने ब्याजको गणना प्रचलित बैंकदरमा गरिने राष्ट्र बैंकको भनाई छ । सार्वजनिक बिदाका कारण सुविधाको समय एकदिन भन्दा बढी भएमा पनि सो अवधिको ब्याज गणनासमेत बैंकदरमा नै गरिनेछ । संस्थामा प्राप्त सुरक्षणपत्रको आधारमा धितो व्यवस्थापन खातामा रकम मौज्दात कायम भएपश्चात् दैनिक तरलता सुविधा उपयोग गर्न सकिनेछ र सो कारोबारको हिसाब फरफारक सोही दिनको तोकिएको समयभित्र गर्नुपर्ने छ ।