काठमाडौं, ४ वैशाख ।
काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो।
नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए । नियम लागू गर्ने तयारी अन्तिम चरणमा रहेको जनाउँदै उनले वैशाख मसान्तदेखि कार्यान्वयनमा आउन सक्ने बताए।
यो नियम लागू भएपछि पैदलयात्रुले निर्धारित ठाउँबाट मात्र हिँड्नुपर्ने हुन्छ। अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै पैदलयात्रुले हिँड्नुपर्नेछ । सो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ । यो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने डिआइजी लामाले बताए। नयाँ पत्रिकामा खबर छ।