काठमाडौँ, १ बैशाख ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०७४ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
सभापति देउवाले शुक्रबार दिएको शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन र संस्थागत गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन स्थानीय तहको निर्वाचनको अत्यन्त ठूलो महत्व रहेको बताएका छन् । उनले सन्देशमा आफ्नो मतबाट बन्ने स्थानीय सरकार गाउँ÷नगरको विकासका लागि सबैभन्दा महत्वपूर्ण र भरपर्दो संस्था हुने उल्लेख गरेका छन् ।
‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७४ ले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ’ सभापति देउवाद्वारा जारी सन्देशमा भनिएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नयाँ वर्ष २०७४ सालको शुभकामना सन्देश दिँदै स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी हुन आग्रह गरेका छन् । निर्वाचनबाट आफूले चुनेका प्रतिनिधिका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन समेत उनले आग्रह गरेका छन् ।
‘‘नयाँ वर्ष २०७४ नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणको स्मरणीय वर्षका रूपमा अंकित हुने विश्वास मैले लिएको छु’ अध्यक्ष ओलीले सन्देशमा भनेका छन् ‘संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो र लोकतन्त्रलाई जनताको घर–आँगनमा पु¥याउने प्रभावशाली प्रक्रियाको रूपमा रहेको स्थानीय तह निर्वाचनले नेपाली जनतालाई स्वशासनको अनुभूति दिलाउने छ ।’
उनले राजनीतिक दल, स्रघसंस्था एवम् आम जनसमुदायमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् । संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरू अभिव्यक्त गरिरहेको मधेसी मोर्चालाई लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट समाधान खोज्न पनि उनले आग्रह गरेका छन् ।