बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीद्वारा शुभकामना

शुक्रबार, बैशाख १ २०७४

काठमाडौँ, १ बैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्ष २०७४ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा बसेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्रीले शुक्रबार शुभकामना सन्देश जारी गरी ‘नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान, र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने कामना गरेका छन्  । 

प्रधानमन्त्रीले २०७३ साल केही उपलब्व्धिका दृष्टिले अविस्मरणीय हुनुका साथै एकात्मक र केन्द्रीकृतरुपमा लामो समयदेखि प्रयोग हुँदै आएका राज्यशक्तिको अधिकार र स्रोतसाधनलाई जनताको घरदैलोमा पु¥याउने दिशामा स्थानीय तहको पुनःसंरचना गर्न सफल रहेको सन्देशमा उल्लेख गरेका छन्  । 
 २०७३ मा विकराल रुप लिँदै गइरहेको ऊर्जा समस्यालाई समाधान गरी केही सहरहरूमा विद्युतभार कटौतीको अन्त्य गरी इच्छाशक्ति र निष्ठा भए छोटो समयमा पनि जनतालाई प्रत्यक्ष छुने गरी केही गर्न सकिन्छ भन्ने प्रमाणित भएको प्रधानमन्त्रीको भनाइ छ । 

सन्देशमा भनिएको छ,–‘वैदेशिक रोजगारमा रहेका लाखौँ नेपाली दाजुभाइ दिदीबहिनीको सुरक्षाका लागि म्यादी जीवन बिमा सुरुवात गरी महत्वपूर्ण नीतिगत सुरुवात ग¥यौँ ।’ 
‘चौविस वर्षयताकै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल हुनु पनि २०७३ को एउटा महत्वपूर्ण उपलब्धि नै हो, यी उपलब्धि हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु’–प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन्। 

नयाँ वर्षले नेपाली जनताले हालसम्म गरेका संघर्षको परिणामस्वरुप प्राप्त संविधानको सफल कार्यान्वयन गर्ने दिशामा महत्वपूर्ण कोसेढुंगा सावित गर्ने जिम्मेवारी हामी सबैलाई दिएको प्रधानमन्त्रीको भनाइ छ । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गर्न सम्बद्ध सबैमा प्रधानमन्त्रीले विशेष आह्वान गरेका छन् । 

निर्वाचनमा सक्रियरुपमा भाग लिएर ऐतिहासिक अवसरको उपयोग गर्न सम्पूर्ण मतदातामा आह्वान गर्नुका साथै प्रधानमन्त्रीले संविधानले तोकेको समयसीमाभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व पूरा गर्न सरकार लागिरहेको सन्देशमार्फत जानकारी दिएका छन्  । 

सरकारले २०७४ मा संघीयता कार्यान्वयनका आवश्यक नीति, ऐन, कानुन तर्जुमा र संस्थागत पूर्वाधारको सिर्जना र अनुकूल राजनीतिक वातावरण सिर्जना गर्ने कामलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता गरेका छन् । प्रधामन्त्रीले नव वर्षले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गर्नुका साथै सबै समुदायका नेपालीबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।