बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

३२ करोड बाँडिए पनि पालकै बास

बुधबार, चैत्र ३० २०७३

बर्दिया, ३० चैत ।

दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुन सकेको छैन । 

२९ साउन २०७१ मा आएको बाढीले बबई नदीको किनारमा बसोबास गरिरहेका ४७ घरपरिवारका करिब तीन सय जना नागरिक विस्थापित भएका हुन् । अरबौँ रुपैयाँ राहत बाँडिए पनि बाढीबाट घरबारविहीन भई शिविरमा बसेका पीडितको व्यथा उस्तै छ । 

त्यतिबेला आएको विनाशकारी बाढीका कारण बर्दियामा ३४ जनाले ज्यान गुमाएका थिए भने १३ जना बेपत्ता भएका थिए । मृतक ३४ जनामध्ये १९ जनाको मात्रै पहिचान भएको थियो । बाढीका कारण तीन हजार आठ सय ५९ घर पूर्णरुपमा क्षति भएका थिए भने १३ हजार पाँच सय १७ घरमा आंशिक क्षति पुगेको थियो । 

अहिले सामान्य र आंशिक क्षति हुनेहरु आ–आफ्नो घर फर्केर पनि घरबार सम्हालिसके तर बाढीले घरखेत बगाई उठीबास भएर शिविरमा बस्दै आएका बाढीपीडितलाई सरकारले पुनःस्थापना नगर्दा उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन् । 

शिविरमा बस्दै आएका गुलरिया नगरपालिका, रामपुर टप्परका ४७ घरपरिवार, बनियाभारका ९८ घरपरिवार र चेपाङका २१ घरपरिवार गरी एक सय ६२ घरपरिवार बाढीपीडितमध्ये गुलरिया नगरपालिका रामपुरका ४७ घरपरिवारको मात्रै पुनःस्थापना हुन सकेको छैन । अन्य शिविरमा रहेकाहरुको पुनःस्थापना भइसकेको छ । आफनो घर जग्गा सबै बगाएपछि अहिले पालको बास भएको बताउँछन् सवीन्द्र शाही । 

बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लाका बाढी पहिरो प्रभावितलाई पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि मध्यपश्चिम क्षेत्रका सभासद्हरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । तर पनि आवास व्यवस्थापनअन्तर्गतको रोकिएको अनुदान रकम निकासा नहुँदा बाढीपीडितले दुःख व्यहोर्नुपरेको छ । 

सरकारले बाढीपीडितका लागि भनेर विभिन्न चरणमा गरी ३२ करोड ५६ लाख २१ हजार नौ सय बाँडिसकेको जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासकीय अधिकृत एवम् विपद् सम्पर्क व्यक्ति डिल्लीराम आचार्यले बताए ।