बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुलमानले चुहावट कति घटाए ?

सोमबार, चैत्र २८ २०७३

काठमाडौं, २८ चैत ।

नेपाल विद्युत प्राधिकरणले बिजुली चोरहरुविरुद्धको कारबाही तीव्र पारेको छ । प्राधिकरणले ६ महिनाको अवधिमा अवैधानिक रुपमा विजुली चोरी गर्ने ४० हजार जनालाई कारबाही गरेको दावी गरेको छ । हालै विद्युतीय सुरक्षा दिवसका अवसरमा गरिएका कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकले विभिन्न जिल्लामा चलाइएको चोरी विरुद्धको अभियानमा ४० हजार कारवाहीमा परेको तथ्य सार्वजनिक गरियो ।

७ महिनाको बीचमा प्राधिकणले झण्डै ५ प्रतिशत विद्युत चुहावट घटाएको कार्यक्रममा जानकारी दिइयो । यो आर्थिक वर्षको सुरुवातमा २७.३ प्रतिशतमा रहेको विद्युत चुहावट अहिले घटेर २२.५ प्रशितमा झरेको छ ।

यसक्रममा विद्युत चोरहरुबाट झण्डै ५ करोड रुपैयाँ राजश्व र जरिवाना स्वरुप असुलिएको छ । प्राधिकरणले ६ महिनाको अवधिमा गरेको विजुली चोरी नियन्त्रणबाट झण्डै सबा अर्बको विजुली पनि बचत भएको छ ।

प्राधिकरणमा कुलमान घिसिङले कार्यकारी निर्देशकको पद सम्हालेपछि आक्रमक रुपमा विद्युत चुहावट नियनत्रणको थालनी गरेका थिए । प्राधिकरणको टिम नै विद्युत चुहावट नियन्त्रणमा लागेपछि हुकिङबाट हुने विजुली चोर्ने ४० हजार कारवाहीमा परेका हुन् ।

प्राधिकरणले यो अवधिमा ग्राहकका बन्द रहेका ९ हजार वान–फेज मिटरलाई रिप्लेस गरेको छ । ६ सय वटा बिग्रिएर बन्द भएका थ्री फेज मिटरलाई पनि परिवर्तन गरेर राजश्वको दायरामा ल्याएको छ । यसअघि यी मिटर नचलेका कारण प्राधिकरणको ठूलो राजश्व गुमिरहेको थियो ।

प्राधिकरणले धेरै विद्युत खपत गर्ने औद्योगिक ग्राहकलाई क्यापेसिटर राख्नैपर्ने गरी काम अघि बढाएको छ । यसले विजुलीको बचत गर्नेछ भने सुरक्षाका लागि पनि यो उपयोगी हुनेछ ।

झण्डै २४ सय क्यापेसिटर जडान गर्ने गरी काम अघि बढेको प्राधिकरण्का प्रवक्ता प्रबल अधिकारीले बताए । प्राधिकरणले झण्डै २ करोड एलइडी बल्ब वितरण गरेर अब ठूला आयोजना नआइञ्जेसम्म बढ्ने विजुलीको माग ब्यवस्थापन गर्ने योजना बनाएको छ । २ करोड एलइडी बल्ब बल्न सुरु हुनासाथ १५० मेगावटभन्दा बढी विजुली बचत हुनेछ ।

विद्युतीय सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ऊर्जामन्त्री जनार्दन शार्म प्रभाकरले प्राधिकरणले पछिल्लो समयमा आफ्नो पहिचान नै फेरेको बताए । उनले प्राधिकरणको टिमले गरेको कामको प्रशंसा गर्दै बैको मन जित्ने गरी नमूना काम गर्दा यसको पहिचान सकारात्मक रुपमा बदलिएको बताए ।

कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरण विद्युतीय सुरक्षा र बचतका लागि विशेष कार्यक्रम ल्याउन लागिएको बताए । उनले विद्युत चोरी नियन्त्रण नै तत्कालका लागि विद्युत संकट समाधानको एकमात्रै विकल्प भएको बताए ।
प्रबन्ध निर्देशक घिसिङले विद्युत चोरी नियन्त्रण गर्न र इनर्जी इफिसेन्सी कार्यक्रमकै कारण लोडसेडिङ मुक्त गराउँदै लैजान सकिएको पनि स्पष्ट पारे ।
विद्युतीय सुरक्षा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल विद्युत प्राधिकरणले इनर्जी इफिसेन्सी कार्यक्रमलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे ।

घिसिङले नेपालको इनर्जी इफिसेन्सी अति कम रहेको पनि उल्लेख गरे । उनले डेढ वर्षपछि माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन हुने र त्यसले माग अनुसार विद्युत आपूर्ति गर्न सहज हुने पनि बताए । कार्यकारी निर्देशक घिसिङले विद्युत निर्यातको दर घटाउन लैजाने प्रतिवद्धता पनि जनाए । उनले ग्रीन इनर्जीलाई प्राथमिकता दिँदै विद्युत निर्यातको दर घटाउँदै लैजाने कार्ययोजना पनि सुनाए । घिसिङले उद्योगधन्दामा विद्युत आपूर्ति विजुली बढाए मुलुक छिट्टै समृद्ध हुने पनि उल्लेख गरे ।

प्राधिकरणले विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोगमार्फत् मुलुकलाई समृद्ध बनाउन अपील गर्दै भब्य रुपमा विद्युतीय सुरक्षा दिवस मनाउन सुरु गरेको हो ।