बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खुला क्षेत्र मासिएकामा संसद्मा बबाल

सोमबार, चैत्र २८ २०७३

काठमाडौं, २८ चैत ।

काठमाडौँ उपत्यका भूकम्पको उच्च जोखिम क्षेत्रमा रहेको थाहा हुँदाहुँदै पनि पुरानो बसपार्कमा भवन निर्माणको स्वीकृति दिइएकोमा व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले आपत्ति जनाएका छन् ।

संसद्को बैठकको विशेष समयमा सांसद भीमसेनदास प्रधानले उपत्यकावासीले खुला स्थान कायम राख्ने लक्ष्यका साथ बसपार्क बनाउन दिएको स्थानमा व्यावसायिक भवन बनाउन दिइनु गलत भएको बताए ।

उनले काठमाडौँको खुला स्थानलाई सरकारी निकाय र जग्गा दलालले व्यक्तिको नाममा दर्ता गराएको भन्दै खुला क्षेत्रको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए । प्रधानले खुला स्थानको अतिक्रमण नरोकिए काठमाडौँ उपत्यका सांसदले सार्वजनिक रुपमा नै प्रतिरोध गर्ने पनि बताए ।
सांसद भीम आचार्यले १२ हजार बढी कोसी बाँध पीडितलाई तत्काल वासस्थान र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारी निकायले विशेष ध्यान दिनुपर्ने माग गरे । सांसद डा सुबोध पोखरेलले सप्तरीमा पछिल्लो दिनमा जङ्गली हात्तीको अतिक्रमणले जनधनको क्षति भएको भन्दै हात्ती नियन्त्रण र उचित क्षतिपूर्ति दिन आग्रह गरे ।

सांसद सिपी मैनालीले सबै दललाई स्थानीय तहको निर्वाचनमा भाग लिन नदिइने मनसायका साथ निर्वाचन चिह्न नै नदिने प्रवृत्ति गलत रहेको भन्दै विद्यामान कानुनी व्यवस्था हटाउन आग्रह गरे ।

सांसद प्रेम सुवालले मुलुकको हितका लागि सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।

सांसद विश्वेन्द्र पासवान, हरिचरण साह, गङ्गा चौधरीले संविधानको भावना विपरीत गएर सरकारले साना दललाई निर्वाचनमा भाग लिन नदिने उद्देश्यका साथ गतिविधि गरेको र निर्वाचन चिह्न नदिने काम गरेको गुनासो गरे ।

सांसद जनकराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको नियुक्त नगरिनु संविधानको मर्म र भावना विपरीत भएको उल्लेख गरे ।

सांसदहरु अञ्जना ताम्ली, वीरबहादुर बलायरले असिनापानी पीडित जनतालाई राहत दिन आग्रह गरेका थिए ।