काठमाडौं । स्थानीय चुनाव अघिदेखि नै देशभर चलेको एमालेमा प्रवेशको लहर अझै बढ्दै गएको छ ।
उक्त लहर आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनसम्मै देखिने अनुमान हुन थालेको छ । औपचारिक कार्यक्रममा मात्र होइन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खादा र माला लगाएर पार्टी प्रवेश गर्नेहरु ओली निवास बालकोटसम्म पुगेरै पार्टी प्रवेश गरेका छन् ।
बिहीबार मात्र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मुरारी भण्डारी नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा भण्डारीलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गरे ।
यसैगरी काठमाडौं क्षेत्र नं ४ का सफल ब्यबसायी नेपाली काँग्रेस निकट प्रेम अग्रवाल, भक्तपुर बालकोटका काँग्रेस नेता चन्द्र श्रेष्ठ सहित ३५ जना र सिरुटारका नेकपा एसका नेता स्थानीय तहको निर्वाचनका वार्ड अध्यक्षका उम्मेद्वार मिलन थापा सहित १५ जना नेकपा (एमाले) मा प्रबेश गरेका छन् ।
सो अवसरमा पार्टीका उपमहासचिव विष्णु रिमाल र केन्द्रीय सदस्य धर्मदत्त देवकोटा पनि उपस्थित थिए ।






