काठमाडौँ – जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आज महाप्रस्थान गरेका वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ ।
पारिवारिक सहमतिअनुसार स्व. जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र सम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो । अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई मेडिकल चिकित्सा प्रणालीअनुसार अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने राससलाई जानकारी दिए ।
उनले भने, ‘अहिले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले केमिकल र औषधि प्रयोग गरेर सुरक्षितरूपमा ‘प्रिजर्भ’ गरिएको छ । ‘प्रोफेसर’ को भनाइअनुसार उहाँको शरीरलाई चिरकालसम्म कुनै पनि तत्वले बिगार्न सक्दैन । उहाँको शरीरबाट चिकित्सा प्रणाली अनुरूप कसरी ज्ञान र सीप लिन सकिन्छ, त्यो आर्जन गर्नेछौँ ‘ जोशीको पार्थिब शरीरलाई परिवारले किष्ट शिक्षण अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ ।