काठमाडौँ – गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ ।
जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरु गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन । तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए । उनले अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि उडान नियमित हुने आश्वासन पाएको बताए ।