मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आफूलाई गोली हानेर मारे पनि प्रभु साहलाई समर्थन गर्न नसक्ने माओवादी उम्मेदवार पटेलको भनाइ

शुक्रबार, असोज २८ २०७९

रौतहट । सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रको रौतहट ३ नम्बर क्षेत्रका उम्मेदवार धिरज पटेलले आफ्नो उम्मेदवारी कायम र हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

उनले आफ्नो क्षेत्रमा एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरे ।

सत्ता गठबन्धनका तर्फबाट आधिकारी उम्मेदवार रहेको र कसैको भ्रममा नपरी मतदाता गर्न पटेलले आग्रह गरेकाछन् । 

आफू लामो समयदेखि माओवादीमा रहेर काम गरिरहेको र सोही आधारमा पार्टीले उम्मेदवार बनाएको भन्दै पटेलले आफू नै आधिकारिक उम्मेदवार रहेको दाबी गरेका छन् । उनले केन्द्रीय पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पछि हट्नु भने पनि आफ्नो प्रतिस्पर्धी प्रभु साहलाई कुनै हालतमा समर्थन नगर्ने र आफ्नो चुनावी अभियान अघि बढ्ने स्पष्ट पारेका छन् । उनले भने, ‘बरु मलाई गोली हानेर मारे पनि म उम्मेदवारी फिर्ता लिनेवाला छैन । र, प्रभु साहलाई समर्थन गर्नेवाला छैन ।’

उनले जो मान्छे आफ्नो पार्टीको भएन । एमालेको भएन । त्यो मान्छे जनताको हुन नसक्ने बताए । पटेलले भने, ‘प्रभु साहजी त हरियो घाँसभित्र हरियो सर्प जस्तो बसेर लुक्नु भा’थो । उहाँले धेरैलाई डस्नु भयो । कुनैबेला प्रचण्डलाई डस्नु भो, माधव नेपाललाई पनि डस्नु भो । अहिले आएर केपीजीलाई पनि डस्नु भो । यदि उहाँसित अब हामी सचेत भएनौं भने रौतहटका जनता सचेत भएनन् भने अब जनतालाई नै डस्नेवाला छ ।’

उनले आफ्नो क्षेत्रमा सत्ता गठबन्धन एकढिक्का रहेको उल्लेख गर्दै विभिन्न दलको सहारामा पटकपटक प्रतिनिधि बनिसकेका र भ्रष्टाचारको आरोप लागेका साहलगायतहरू पराजित हुने दाबी गरे ।