काठमाडौं, कैलालीको जोशीपुर गाउँपालिका–६ सिम्री बस्ने ४२ वर्षीय रोगाही बडायक आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको खेतको कुलोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी हेर्न गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त खेतस्थित कुलोमा उनको शव फेला परेको हो ।
डोटीको बडिकेदार गाउँपालिका–३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलम बहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । बडिकेदार गाउँपालिका–३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका थापी घर फर्किने क्रममा हराई बेपत्ता भएका उनको उक्त खोलामा सडिगलेको अवस्थामा शव फेला परेको हो । बर्दियाको बाँसगढी नगरपालिका–१ बाटुलेस्थित बबई नदीको किनारमा सल्यान कालिमाटी गाउँपालिका–६ बस्ने ६० वर्षीय नर बहादुर दर्लामी मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।