काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आइसियुमा राखेर उपचार सुरु गरिएको छ ।
मुटुको चालसम्बन्धी समस्या देखा परेकाले उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको किष्ट अस्पतालले जनाएको छ ।
अस्पतालले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा जोशीको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।
अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ ।
आइतबारबाट मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि १९ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणपछि उनमा डेंगु पुष्टि भई उपचार भइरहेकोमा आइतबार बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको हो । उनको छातीमा निमोनिया संक्रमणसमेत देखिएको अस्पतालले जनाएको छ ।
जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन दैनिक रूपमा बुलेटिन निकाल्न थालिएको अस्पतालले जनाएको छ ।
१०३ वर्षीय संस्कृतिविद् जोशीले नेपालको सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।