मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सत्ता गठबन्धनमा भागवण्डाको अवज्ञा, एकअर्काविरुद्ध बागी नै बागी

सोमबार, असोज २४ २०७९

काठमाडौं । सत्ता गठबन्धनभित्र देशभरका दुई दर्जन बढी निर्वाचन क्षेत्रमा बागी उम्मेदवार खडा भएका छन् । शीर्ष नेताले केन्द्रमा भागवण्डामा तालमेल गरे पनि गठबन्धनभित्रका दलले एकले अर्काका विरुद्ध उमेद्वारी दर्ता गरेका छन् ।

देशभरबाट प्राप्त विवरण अनुसार गुल्मीको २ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताले उम्मेदवारी दिएका छन् । कांग्रेस नेता डाक्टर दामोदर भुसालले झाँक्रीलाई अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् 

यसैगरी उदयपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा गठबन्धनकातर्फ नेकपा एस नेता जगन्नाथ खतिवडाले उम्मेदवारी दिएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मनोनयन दर्ता गराएका गोरखा–२ बाट कांग्रेसकी माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।  प्रचण्ड गोरखाका सोझासिधा जनतालाई ठग्न आएको भन्दै भट्टले उम्मेद्वारी दिएकी हुन्। हरेक निर्वाचनमा क्षेत्र फेर्दै आएका प्रचण्ड यसपटक चितवन छाडेर गोर्खा गएका हुन्।

सिन्धुपाल्चोक १ मा पनि कांग्रेसका नेता रामकुमार जीसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जीसी सुनकोसी गाउँपालिका–२ का इकाई सभापति हुन् । यहाँ गठबन्धनबाट माओवादीले पाएको माधव सापकोटा उम्मेदवार बनेका छन् ।

सुर्खेत १ मा प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी परेको छ। नेकपा माओवादीका केन्द्रका मानसिंह ठकुरीले खड्काविरुद्ध बागी उम्मेदवारी दिउका छन् । खड्का सम्पर्क समन्वय समितिको प्रदेश कमिटी सदस्य हुन् ।

सत्ता गठबन्धनभित्र काठमाडौं १० मा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएको छ । काठमाडौं १० मा प्रतिनिधिसभा माओवादी पोलिटव्युरो सदस्य अञ्जना विशंखेले गठबन्धनका साझा उम्मेदवार कांग्रेसका राजन केसीविरुद्ध दिएकी छन् ।

त्यस्तै प्रदेशतर्फ एक नम्बरमा दिलीप महर्जन र २ नम्बरमा गणेश कुँवरले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट मोरङ ५ मा पनि बागी उम्मेदवारी परेको छ । कांग्रेसका सलिम अन्सारीले पनि मोरङ ५ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका  छन् । कांग्रेसले माओवादीसँग गठबन्धन गरेर माओवादीका निवर्तमान सांसद शिवकुमार मण्डललाई उम्मेदवार बनाएको छ ।

यस्तै बझाङमा पनि कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका भानुभक्त जोशीविरुद्ध कांग्रेसका पूर्वसभापति हर्कजङबहादुर सिंहले बागी उम्मेदवारी दिएका छन् । खोटाङका प्रतिनिधि र प्रदेशसभा गरी तीन वटै क्षेत्रमा कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि पूर्व सांसद सर्वधन राईले उम्मेदवारी दर्ता गराएका छन् ।

सुवासकुमार पोखरेल प्रदेश क र पूर्वउपसभापति धर्मराज पोखरेललाई प्रदेशसभाको ख मा उम्मेदवार दर्ता गराउनु भएको हो । सा क्षेत्रमा गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता रामकुमार राई पासाङले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभामा क एकीकृत समाजवादीबाट वीरबल राई र ख मा कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दिएका छन्। यस्तैकास्की २ मा पनि कांग्रेस नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बराल उम्मेदवार छन् । यस्तै चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । चितवन– ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि बागी उम्मेदवारी दिएका  छन्।

कांग्रेस रुकुम पश्चिमका तीन वटै क्षेत्रमा माओवादीले पाएपछि कांग्रेस दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएको छ । प्रदेशसभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । सो जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।

भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता उत्तम चापागाईं बागी उम्मेदवार बनेका छन् । भोजपुर प्रदेशसभा क मा एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राई गठबन्धनका साझा उम्मेदवार बनेपछि चापागाईंले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

कपिलवस्तु १ मा कांग्रेसका नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । माओवादी सचिव चन्द्रप्रकाश खनाल बलदेवविरुद्ध गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेसले पर्सा १ लोसपालाई छाडेपछि कांग्रेस नेता अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनको तर्फबाट पर्सा –१ को प्रतिनिधिसभा सदस्यमा लोसपाका नेता लक्ष्मणलाल कर्ण उम्मेदवार बन्दा उनले बागी बनर उम्मेदवारी दिएका हुन् ।

यस्तै जनमोर्चाको विद्रोह र एकीकृत समाजवादीबाट पनि विद्रोह भएको छ । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा गठबन्धनभित्र विद्रोह गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका तीनै क्षेत्रमा जनमोर्चाले उम्मेदवारी दिएको हो ।

प्रतिनिधिसभामा जनमोर्चाका पशुपति ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रदेशसभा क मा सागर केसी र ख मा जीवलाल पौडेलले पार्टीबाट नै उम्मेदवारी दर्ता गराएका छन् ।

सो क्षेत्रमा कांग्रेस नेतृ तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उनीसँगै प्रदेशसभा क मा माओवादी केन्द्रका ठाकुरकुमार बिक र प्रदेशसभा ख मा कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै रामेछापमा एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा उम्मेदवारी दर्ता गराएको छ । सत्ता गठबन्धनमा प्रतिनिधिसभा कांग्रेस र दुवै प्रदेशसभा माओवादीले पाएपछि एकीकृत समाजवादीले विद्रोह गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादीबाट पूर्व सांसद देवशंकर पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी प्रदेश सभा क मा पार्टी जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत र प्रदेश सभा ख मा नेता झम्क कँडेलको उम्मेदवारी दिएका छन् । यता सत्ता गठबन्धनले प्रतिनिधि सभामा कांग्रेसका पूर्णबहादुर तामाङ  र प्रदेश सभा क मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ र ख मा माओवादी केन्द्रकै युवराज चौलागाईंले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डलले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

आइतबार पार्टी परित्याग गरेर सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्र पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसबाट रामदेव साहले उम्मेदवारी दर्ता गराएका छन् ।

रोल्पा प्रदेश सभा ख नेपाली कांग्रेसले पाएर कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएका छन् । तर सोही क्षेत्रबाट माओवादी पोलिटब्यूरो सदस्य दीपेन्द्र कुमार पुन सिजलले माओवादी नै परित्याग गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।