मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

कृषि उद्यम केन्द्रको कृषिको व्यवसायीकरणका लागि सय किसान अभियान

आइतबार, असोज २३ २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले कृषि उद्यमी उत्थान र कृषकको प्रोत्साहन स्वरुपमा देशभरबाट एक सय नमुना किसान र उद्यमी पहिचान कार्यको थालनी गरेको छ ।

कृषिबाटै आर्थिक समृद्धि हासिल गर्दै समुन्नत विकास गर्ने लक्ष्यका साथ किसानलाई प्रविधिमैत्री बनाई जीविकोपार्जनमुखी कृषि पेशालाई व्यवसायीकरण गर्न एक सय नमुना किसान उद्यमी पहिचान कार्यक्रम थालिएको हो ।

प्रविधि, प्राविधिक, पुँजी र बजार’ को पहुँच किसानसम्म पुर्‍याउने हेतुले सुरु भएको सय किसान अभियानले नेपालको समग्र किसानको मुहार फेर्ने र राज्यको ढोका ढक्ढक्काएर भएको अनियमिततालाई सही बाटोमा ल्याउने आशा गरिएको छ।
कृषि उद्यम केन्द्रले विगत केही वर्ष यता कृषि उद्यमीलाई लक्षित गर्दै प्रोत्साहन र सहुलियत स्वरुप विभिन्न कार्यक्रम गर्दै आएको छ । स्थापनाकालमा थोरै ढिलासुस्ती रहेको यस केन्द्रले पछिल्लो समय नेतृत्वमा भएको परिवर्तन सँगै यसका कार्यक्रम र योजनामा समेत विस्तार भएको पाइन्छ ।

केही समय अघि मात्र नेपालमा कोरियाली कृषि सीप र प्रविधि भित्र्याउने हेतुल कृषि उद्यम केन्द्र र जिएमसीबीच सम्झौता भएको थियो । जसले नेपाली कृषकलाई ५/५ महिना गरी दुईपटक कोरियाको सीप र प्रविधिको प्रयोगबारे तालिम प्रदान गर्ने बताइएको थियो । उक्त कार्यक्रमले कोरियन कृषि प्रविधि नेपालमा भित्र्याउन सहज हुने जसले माटो सुहाउँदो उत्पादनमा सहज र उल्लेख्य वृद्धिको अपेक्षा गरिएको छ ।

कसरी हुने छ सय किसानको छनोट ?

७७ वटै जिल्लाबाट वास्तविक किसानको पहिचान गरी उत्कृष्ट सय जनाको छनोट हुन्छ । जसमा कृषि व्यवसायसँंगै, पशुपालनतर्फ भेडा–बाख्रा, बंगुर, गाईभैंसी, कुखुरा हाँसलगायत पन्छी पालेका दलित मधेसी, जनजाति, विपन्न आय भएका, कृषिमै भविष्य देखेकालाई पहिलो प्राथमिकता दिइने छ । साथै छनोट भएका किसान वास्तविक हुन् वा हैनन भनेर पनि स्थानीय तहमा पुनः छलफल गरिने छ ।

छनोट भएका किसानले के के सुविधा पाउनेछन् ?

सय किसान अभियानमा छनोट भएका किसान उद्यमीहरूले करोडौंसम्मको सहुलियत ऋण, अुनदानसँंगै सीप ज्ञान, देश विदेश भ्रमण, वस्तु विकासमा सहजीकरणको ज्ञान, व्यवसायी योजनासम्बन्धी ज्ञान, बजार सूचना प्रवाह बजार विस्तारमा सहजीकरण, वित्तिय पहुँचमा सहजीकरण, मोबाइल एपलगायतका सेवा पाउने छन् । साथै छनोट भएका किसानलाई उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्रबाट सदस्यता प्रमाणपत्र प्रदान गर्नेछ ।