मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

डेंगुबाट ३८ जनाको मृत्यु र २८ हजार बढी संक्रमित हुँदा समेत देखिएन सरकारको सकृयता 

शुक्रबार, असोज १४ २०७९

काठमाडौं । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिन थालेको छ । जनता डेंगु संक्रमणले हायलकालय हुँदा समते सरकार भने सिट बाँडफाँटमै अल्मलिएको छ ।  
देशभरका ७६ जिल्लाका २८ हजार १ सय ९ जना डेंगु संक्रमित भएपछि सरकारले भने बल्ल सकृयता देखाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण साउन यता मात्र ३८ जनाको मृत्यु भएको छ । 

तर, सरकारले बल्ल अस्पतालमा सिटामोल पठाउन सुरु गरेको छ । संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं र ललितपुरका १४ स्थानीय तहसँगै यहाँका १६ अस्पतालमा पाँच लाख ५० हजार थान सिटामोल पठाएको हो  । निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराइएको हो ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई एकरएक लाख थान सिटामोल पठाइएको छ ।  कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०र२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि सिटामोल उपलब्ध गराइएको छ। 

डेंगु एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ। डेंगु संक्रमण भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने जस्ता लक्षण देखापर्ने चिकित्सकको भनाइ छ ।