मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

मनास्लु हिमपहिरोः १५ जना घाइते, पाँचको अवस्था गम्भीर

मंगलबार, असोज ११ २०७९

काठमाडौँ : मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पबीचमा गएको हिमपहिरोमा परेर कम्तीमा पाँच जना गम्भीर घाइते भएका छन्। मौसम खराब हुँदा उनीहरुको उद्धार गर्न नसकिएको पर्यटन विभागले जनाएको छ।

विभागको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाका अनुसार सोमबार पहिरो जाँदा १५ जना आरोही तथा आरोहण दलका सदस्य फसेका थिए।

‘हिमपहिरोमा फसेका सबैलाई उद्धार गरिएको छ’, खतिवडाले भने, ‘उहाँहरु क्याम्पमा हुनुहुन्छ। पाँचजना गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि काठमाडौँ ल्याउने प्रयास गरिरहेका छौँ। तर खराब मौसमका कारण सम्भव भएको छैन।’

सामागाउँमा तीनवटा हेलिकप्टर तयारी अवस्थामा रहेको उनले बताए। मौसम सुधार हुनेवित्तिकै गम्भीर घाइतेको उद्धारका गरिने उनले जानकारी दिए।

सोमबार मध्याह्नतिर मनास्लु हिमालमा हिमपहिरो गएको हो। कीर्तिमानी आरोही निर्मल पुर्जाले सामाजिक सञ्जालमार्फत् हिमपहिरोबारे जानकारी दिँदै आफ्नो आरोहण दलमा रहेका सबै सदस्य सकुशल रहेको उल्लेख गरेका थिए।

पर्यटन विभागको पर्वतारोहण महाशाखाका निर्देशक खतिवडाले अहिलेसम्म मानवीय हताहतीको खबर नरहेको बताए। उनले भने, ‘हामी गम्भीर घाइतेलाई आवश्यक उपचार प्रदान गर्न सक्दो प्रयास गरिरहेका छौँ।’