बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुई महिनामा ९ प्रतिशतले घट्यो नेपालको व्यापार घाटा

मंगलबार, असोज ११ २०७९

काठमाडौँ : ०७९/८० को पहिलो दुई महिनामा नेपालको व्यापार घाटा ९ प्रतिशतभन्दा बढीले घटेको छ। चालु वर्षको साउन र भदौ गरी दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९ दशमलव ४५ प्रतिशतले घटेको हो।

भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार साउन र भदौमा नेपाललाई २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार बराबरको वैदेशिक राष्ट्रहरूसित व्यापार घाटा भएको छ।

यो गत आर्थिक वर्षको यही अवधिभन्दा ९ दशलव ४५ प्रतिशतले कम ब्यापार घाटा हो। गत आर्थिक वर्षको साउन र भदौमा नेपाललाई २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार बराबरको वैदेशिक ब्यापार घाटा भएको थियो। चालु आर्थिक वर्षको सुरुको दुई महिनामा आयात र निर्यात दुवै घटेको छ। साउन र भदौमा नेपालले विदेशबाट कुल २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार बराबरको विभिन्न वस्तु आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

यो गत आर्थिक वर्षको भन्दा १३ दशमलव ०१ प्रतिशतले कम आयात हो। गत आर्थिक वर्षको यही अवधिमा भने नेपालले विदेशबाट ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार बराबरको वस्तु आयात गरेको थियो। आयातसँगै निर्यात पनि चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ३४ दशमलव ८८ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको साउन र भदौ गरी दुई महिनामा २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार बराबरको विभिन्न वस्तु विदेशमा निर्यात गरेको छ। जबकि गत आर्थिक वर्षको यही अवधिमा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार बराबरको वस्तु विदेशमा निर्यात गरेको भन्सार विभागले जनाएको छ।

चालु आर्थिक वर्षको साउनमा पनि नेपालको ब्यापार घाटा १० दशमलव ३८ प्रतिशतले घटेको थियो।