धनुषा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमाथि छलफल गर्न राष्ट्रपतिले दिएको सुझावलाई संसदभित्र छलफलै नगरी विधेयकलाई जस्ताको त्यस्तै पठाएर सरकारले राष्ट्रपतिको अपमान गरेको बताएका छन् ।
एमाले जिल्ला कमिटी धनुषाले जिल्लाको निर्वाचन क्षेत्र नं २ को तीनकौरिया चोकमा शनिबार आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा व्यक्त गरेका हुन् ।
उनले सरकारले बहुमतको दम्भमा विधेयकमा अनावश्यक कुरा राखेर प्रतिपक्षीसँग कुनै छलफलै नगरी नागरिकता विधेयकलाई दोस्रो पटक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ पठाएको बताए ।
जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने पक्षमा एमाले सदैव तत्पर रहेको भन्दै अध्यक्ष ओलीले आफु प्रधानमन्त्री रहेको समयमा नागरिकता समस्या समाधान गर्न खोज्दा अहिले गठबन्धनमा रहेकैहरूले संसदको समितिमा अगाडि बढ्न नदिएका र पछि अध्यादेशमार्फत जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई नागरिकता दिन थालिएकामा मुद्दा हालेर रोकेको बताए ।
उनले मंसिर ४ गतेको निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्ने र एक महिनाभित्रमा नागरिकता समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे। अध्यक्ष ओलीले भने– ‘एमालेले नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ भन्छ तर गठबन्धनभित्रका दलहरूले गैर नेपालीलाई पनि नागरिकता दिन चाहन्छन्, यसै विषयमा समस्या उत्पन्न भएको हो ।’
उनले एमाले नेतृत्वको सरकारले विगतमा देश र जनताका लागि गरेका कामले एमालेप्रति जनताको आकर्षण रहेको र प्रवेशको लहर चलेको बताए ।
अध्यक्ष ओलीले अरू पार्टी छाडेर एमाले प्रवेश गर्नेको सङ्ख्या लाख नाघेको भन्दै एमालेमा प्रवेशको क्रम चलिरहने बताए ।
देश विकास र जनताको हित नै एमालेको एकमात्र स्वार्थ रहेको र देश विकाससँगै तराई–मधेशको विकास एमालेले मात्रै गर्न सक्छ भन्दै अध्यक्ष ओलीले पहिलो पटक मतदान गर्ने युवालाई देश विकासको पक्षमा मतदान गर्न आग्रह गरे ।
एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका निवर्तमान सचेतक एवं नेता उमाशंकर अरगरियासहित विभिन्न पार्टी परित्याग गरी चार हजारको सङ्ख्यामा नेताकार्यकर्ताहरू एमालेमा प्रवेश गरेका थिए ।
अध्यक्ष ओलीले नवप्रवेशीहरूलाई माला र गम्छा लगाएर स्वागत गरे। अध्यक्ष ओलीलाई स्थानीय नेताकार्यकर्ताले २०५ किलोको फूलको माला लगाएर सम्मान गरेका थिए । कार्यक्रममा एमालेका सचिव एवम मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, पोलिटव्यूरो सदस्य जुली महतो र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।