मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पाल्हिनन्दनका अध्यक्ष गुप्तामाथि भ्रष्टाचार आरोपमा उजुरीका चाङ

आइतबार, असोज ९ २०७९

काठमाडौँ – लागुऔषध मुद्दामा पक्राउ पुर्जी जारी भएका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचारसम्बन्धी अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जन बढी उजुरी परेका छन् ।

२०७४ को स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गुप्ताले भ्रष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गरेको भन्दै छानबिन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका हुन् ।

विगतमा नवलपरासीको पाल्हिनन्दन-३ बेलासपुर गाउँमा निर्वाहमुखी कृषि र सुर्तीको फुटकर कारोबारबाट जीविकोपार्जन गर्दै आएका गुप्तामाथि गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सुनवल, बुटवल,अर्घाखाँचीलगायतका स्थानमा अर्ब बढी मूल्यका घर, जग्गा र सम्पत्ति आर्जन गरेकाले आम्दानीको स्रोत छानबिन गरी कारबाहीको माग गरिएको छ । अख्तियारमा परेको उजुरीअनुसार गुप्ताले श्रीमती शारदा आचार्य गुप्ताको नाममा सुनवलमा पाँच कठ्ठा जग्गामा तीन तले, बुटवलमा तीन तले र अर्घाखाँचीमा आलिशान भवन बनाएका छन् ।

यस्तै, गुप्ताले गाउँपालिका भवनको दक्षिणतर्फ साँधमा जितबहादुर र प्रेमबहादुर चौधरीको नाममा रहेको पाँच कठ्ठा जग्गा ४० लाखमा खरिद गरेको देखाई आफ्नो बुबा बंशराज तेलीको नाममा पास गराएका छन् भने पाल्हिनन्दन-३ मा पनि तीन तले घर र वडा नम्बर ४ मा चार कठ्ठामा दुई तले घर र गोदाम बनाएका छन् । पालिका अध्यक्षमा निर्वाचित भएपछि यसरी अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको देखिएकाले छानबिन गरी अकूत सम्पत्ति जफत गर्न उजुरीमा माग गरिएको छ ।

गाउँपालिकाको भवन निर्माणका क्रममा सात करोड ४९ लाख रुपैयाँको ठेक्का सम्झौताविपरीत कार्यपालिका बैठकको निणर्य नगरी प्रत्येक आर्थिक वर्ष भेरियन्स अर्डर गरी करिब तीन करोड बढी वजेट भुक्तानी गरेर ठेकेदारबाट लाभ लिएको आरोप छ । उक्त भवन निर्माण बापत एक करोड ४० लाख बक्यौता भुक्तानी गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकबाट भुक्तानी गर्ने निणर्य गराएका छन् । उक्त रकमबाट अध्यक्ष र कर्मचारीले रकम बाँडफाँड गरेकाले छानबिनको माग गरिएको छ ।