मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

काभ्रे –२ मा एमालेबाट गोकुल बाँस्कोटा निर्विकल्प उम्मेदवार, क्षेत्र नम्बर १ मा तीन जना लामाको प्रमुख दाबेदारी

शनिबार, असोज ८ २०७९

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको उम्मेदवारी दाबी गर्ने क्रम जारी छ ।

राजधानी काठमाडौंको नजिकको जिल्ला र चर्चित नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृह जिल्ला भएका कारण पनि काभ्रेपलाञ्चोकको राजनीतिलाई धेरैले चासो दिएका छन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदा गठबन्धनबाट काभ्रे १ मा माओवादीका उम्मेदवार वामध्वज लामा विजयी बनेका थिए भने प्रदेश २ मा एमालेका गोकुल बाँस्कोटा विजयी बनेका थिए ।

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ प्रतिनिधि सभामा नेकपा एमालेबाट केन्द्रीय कमिटी सदस्य रेशम लामा, जिल्ला उपाध्यक्ष चन्द्र लामाकाे प्रमुख दाबेदारी छ ।  विद्यार्थीहरुको नेतृत्व गर्दै यसअघि समानुपातिक सांसद बनेकी युवा नेतृ नविना लामाले पनि यसपटक प्रतिनिधि सभामा आफ्नो दाबी प्रस्तुत गरेकी छन् । 

प्रदेश सभा ‘क’ मा रामबहादुर गौतम, दिलिप लामा, अम्बुभवानी कार्की, जेनिस लामाले दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभा प्रदेश ‘ख’ अन्तर्गत नेकपा एमालेबाट राष्ट्रिय युवा संघका उपाध्यक्ष एवं वागमती प्रदेश कमिटी सदस्य युवा नेता अमित लामाको दाबेदारी छ । यसैगरी रामहरी सुवेदी, विदुर हुमागाई, शान्ता न्यौपाने, केशव बडाल, कृष्ण खुलाल समेतले प्रदेश सभामा दाबी प्रस्तुत गरेका छन् ।

प्रदेश ‘ख’ मा सिफारिसमा परेका अमित युवा माझ निक्कै लोकप्रिय मानिन्छन् । राष्ट्रिय राजनीतिमा परिचय बनाएका अमित स्थानीय स्तरमा समेत निक्कै लोकप्रिय मानिन्छन् । केही समय अघि अमित लामाकै पहल कदमीमा दर्जनौं युवा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।

गएको स्थानीय निर्वाचनमा समेत युवाहरुको सकृय सहभागी गराउनमा अमितको ठूलो हात थियो । उनकै पहलकदमीमा दर्जनौं युवा एमाले प्रवेश गरेका थिए । 

काभ्रेकै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा भने एमालेबाट पूर्वमन्त्री गोकुल बाँस्कोटाको नाम सर्वसम्मत भएकाे छ । यसकाे प्रदेश सभा ‘क’  र ‘ख’ मा कुमार खकुरेल र कुमार थापा एमालेबाट उम्मेदवार बन्ने लगभग निश्चित भइसकेको छ । 

काभ्रेको प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसबाट तीर्थ लामा र शिवबहादुर हुमागाईको दाबेदारी रहँदा प्रदेश सभामा गणेश लामा र श्री लामा उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । 

एमालेका केन्द्रिय सदस्य रेशम लामाले स्थानीय निर्वाचनमा हारेको दुःखलाई शक्तिमा बदलेर अब आउने निर्वाचनमा भूमिका निर्वाह आफूहरु जोडतोडका साथ लागि परेको र आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टी विजयी हुनेमा ढुक्क भएको बताइरहँदा काभ्रे १ मा एमालेलाई निक्कै चुनौती हुने देखिन्छ ।

गएको स्थानीय निर्वाचन जस्तै आगामी संसदीय निर्वाचनमा सत्ताधारी पाँच दलहरुमा चुनावी तालमेल भए काभ्रे प्रतिनिधिसभा १ मा एमालेलाई चुनाव जित्न निक्कै कठिन देखिन्छ । गएको स्थानीय निर्वाचनमा यहाँका अधिकांश स्थानीय तहमा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ मा अन्तर्गत चौरीदेउराली गापा. तेमाल, रोशी, नमोबुद्ध नपा.का वडाम्बर ३,४,५ महाभारत गापा. खानीखोला, वेथान गाउँपालिकाको वडा नम्बर ६, धुलिखेल नगरपालिकाका ८,९,१०,११,१२ र पनौति नगरपालिकाका ४,५,६ ७ ८, ९ वडा पर्दछन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत भुल्लु गाउँपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका, धुलिखेल न.पा.का बाँकी वडा, पनौतिका न.पा.का बाँकी वडा, र बेथान गाउँपालिकाका बाँकी वडा पर्दछन् ।