महोत्तरी, १५ चैत ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका इन्जिनियर शोभिन्द्र साहलाई सोमबार दिउँसो एक समूहले कार्यकक्षमै कुटपिट गरेको छ ।
इन्जिनियर साहका अनुसार उनी आफ्नो कार्यकक्षमा काम गरिरहेकै अवस्थामा स्थानीय नवीन साह, अजित चौधरी, सञ्जय बालग्वाललगायतका व्यक्तिले आएर गाली, बेइज्जति गर्नुका साथै कुटपिट गरेका हुन्।
नगरपालिका क्षेत्रभित्र नगर विकास कोषको योजना र बजेट बाँडफाँडको टेन्डरसम्बन्धी सूचना प्रकाशन गरेको कुरालाई लिएर उनीहरुले इन्जिनियर साहलाई कुटपिट गरेको पीडित इन्जिनियर साहले बताए ।
कुटाइबाट इन्जिनियर साहलाई सामान्य चोटपटक लागेको छ भने उनको अवस्था सामान्य रहेको बताइएको छ । उनले आफूले कार्यालय प्रमुखको आदेशानुसार टेन्डरसम्बन्धी सूचना प्रकाशित गरेको र आफूलाई यसमा कसैले गाली, बेइज्जति र कुटपिट गर्नु गैरकानुनी भएको भन्दै आफूलाई दुब्र्यवहार र कुटपिट गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।
यता इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भु पोखरेलसँग घटनाबारे जानकारी लिँदा उनले गौशाला नगरपालिकामा इन्जिनियर साहमाथि गाली बेइज्जति भएको, स्थानीय र इन्जिनियरबीच भनाभन् भएकोबारे आफूलाई जानकारी भएको तर कुटपिट भएकोबारे प्रहरी टोलीले केही नभनेको बताए ।
साथै, उनले आफ्नो प्रहरी टोली घटनास्थल पुग्दा बादविवाद साम्य भइसकेको तथा उनीमाथि कुटपिट गर्ने समूह भागिसकेको बताए ।