काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रीय सदस्य परियार हाल चितवन जिल्ला सहइन्चार्ज समेत हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्मुखमा उनको एमाले प्रवेशले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमा ठूलो धक्का लागेको छ ।
एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै गर्न सक्ने बताए । राजनीति पार्टीहरु मध्ये सक्षम नेतृत्व भएको पार्टी एमाले भएको बताउँदै उनले यो नै सच्चा बामपन्थी भएको बताए ।
परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।
परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, सचिव टोपबहादुर रायमाझीलगायतका नेताहरुले स्वागत गरेका थिए ।