बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विश्वकपको ट्रफी आज सगरमाथा पुगेन

मंगलबार, भाद्र १४ २०७९

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र गोक्यो तालमा आज मंगलबार प्रदर्शनी गरिने भनिएको आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी रोकिएको छ ।

विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आईपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेको थियो ।  तर, खराब मौसमका कारण प्रदर्शनी रोकिएको छ ।

नेपाल क्रिकेट संघ क्यानका जनरल म्यानेजर वृतान्त खनालले खराब मौसमका कारण ट्रफी सगरमाथा पुर्‍याउन नसकिएको बताए । उनले बुधबार पुन: सगरमाथा र गोक्यो पुर्‍याइने जानकारी गराए ।

‘मौसमका कारण आज रोकिएको सगरमाथाको आधार शिविर र गोक्यो तालको यात्रा बुधबार हुनेछ,’ खनालले खेलपाटीसँग भने, ‘आज ट्रफी टुरको अन्य तालिका रहेको छैन ।’

अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आईपुगेको हो  ।

खनालले विश्वकप ट्रफी बुधबार नै भक्तपुर दरबारस्क्वारमा बिहान ११:३० बजेबाट प्रदर्शनीमा राखिने जानकारी दिए । बुधबार नै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा समेत ट्रफी पुर्‍याइने उनले बताए ।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याईएको हो ।  यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो ।

टी-ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याईएको हो । विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने छ। विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिदैछ । विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो । अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।

विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।