काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भेटवार्ता भएको छ ।
भेटका क्रममा राजसंस्थाको आवश्यकता लगायतका विषयमा छलफल भएको र अन्तमा ओलीले चुच्चे नक्सा अंकित सिक्का उपहार दिएको मिश्रले बताएका छन् ।

आइतबार साँझ ६ बजेपछि ओली निवास बालकोटमा साढे दुई घण्टा छलफल भएको भन्दै उनले आज सामाजिक सञ्जालमा लेखेका छन्–
“तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।”
उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।
ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।
सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”
अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ!