काठमाडौं । नेपाली कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ । अभियानको समयावधि पहिलो चरण भदौ १० देखि बिपी जन्मजयन्ती भाद्र २४ सम्म हुने पार्टी कार्यालयले जनाएको छ ।
यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तरक्रिया गर्ने अभियानको उद्देश्य रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए
यसैगरी कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियान सिर्जना गर्ने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य रहेको छ ।
अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने र ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने व्यवस्था गरिएको उनले बताए ।
केन्द्रीय प्रतिनिधिले अभियान सुरु हुनुभन्दा दुई दिन अघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्ने र जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रमबारे छलफल गरी १५ दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरु कम्तीमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनेछन् ।
जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेशसभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागिता रहनेछ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशनरमहासमितिरप्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेद भुलेर ऐक्यबद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपिल गर्नेछन् ।
अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरूको केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरूले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँट गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने, कतिपय भ्रातृरसङ्घको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ती सङ्घअन्तर्गत विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने बताइएको छ । साथै भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो सङ्गठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने पार्टी कार्यालयले जनाएको छ ।