बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चिनियाँ प्रभुको आशीर्वादमा आइजिपी हुने सिंहबहादुरको कसरत

मंगलबार, माघ १८ २०७३

कठमाडौं ।  सशस्त्र प्रहरीमा आइजिपीको दौडमा रहेका एआइजी सिंहबहादुर श्रेष्ठ झन झन विवादमा फस्दै गएका छन् । सिंह पूर्व क्षेत्रमा बाहिनीपति हँदा  अख्तियारले डामेका कोषराज वन्तले त्यहाँको एक वर्षे कार्यकाल पूरा नगराई आफ्नो मनोमानीमा सात महिनामै तानेर एनडिसी कोर्सका लागि चीन पठाएका थिए । 
नेपाली सेनामा एनडिसी कोर्स अनिवार्य भए पनि सशस्त्रमा यो स्वेच्छिक र संगठनको इच्छामा भर पर्छ । तत्कालीन महानिरीक्षक वन्तको आशिर्वादमा एनडिसी कोर्सका लागि चीन जाने अवसर पाएपछि सिंहबहादुर वन्तका प्रिय पात्र हुने नै भए । यो कोर्स गरेको व्यक्तिलाई सशस्त्रमा आइजिपीको गतिलो उम्मेदवारको रुपमा पनि हरिन्छ । 
सिंहबहादुर  नै आगामी आइजिपी भएमा वन्तले पुरानो गुनको सावा ब्याज असुल गर्ने अवसर पाउँछन् । सशस्त्रमा कपडादेखि खानाको समेत ठेक्कापट्टामा करोड होइन अर्बौको खेल हुन्छ । भौतिक पूर्वाधार निर्माण, बन्दोबस्तीका सामान आदि किनमेल गर्दाको कमिसन पनि करोडौं हुन्छ । अख्तियारले अकुत सम्पत्ति आर्जनमा वन्तलाई  अख्तियारले १० करोड धरौटीमा रिहा गरेको थियो । अहिले पनि वन्तविरुद्धको मुद्धा विशेष अदालतमा विचाराधीन छ । 
वन्तले केही सिमित व्यक्तिहरूसँंग मिलोमतो गरि ढुवानी गर्दै नगरिएका सामानहरूको नक्कली विल बनाई करिव ७ करोड रुपैया भुक्तानि गरि गराई आर्थिक अनियमितता गरी भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको दाबी छ  । त्यो बेला अख्तियारको पञ्जाबाट उम्कन वन्तले बैंकको चेक बुझाएर उम्के । तर अहिले उनी अख्तियारमा बुझाएको रकम बराबर कमाउने दाउमा छ । महानिरीक्षक पदबाट खुस्केपछि पनि कमाउने दाउ उनको लागि यो भन्दा सुनौलो अरु केही हुँदैन । किनभने सिंहबहादुर आइजिपी भए भने वन्तकालागि बाटो सहज हुन्छ । विगतमा वन्तले जे जस्ता काम गरेर अख्तियारको चुंगलमा परेका थिए, त्यस्ता कमजोरीबाट जोगिन पनि सिंहबहादुरका लागि वन्त राम्रो सल्लाहकार हुन सक्छन् । 
एआइजी सिंहबहादुर अहिले आइजिपी हुनका लागि विदेशी प्रभूहरुको शरणमा पनि पुग्न थालेका छन् । उनले चीनमा तालिम गर्दै सुरक्षा क्षेत्रका चिनियाँ अधिकारीहरुसँग उनको सम्बन्ध निकट भएको थियो । अहिले पनि नेपालस्थित चिनियाँ दूतावासका डिफेन्स एटेची(डिए) चेङ जिहोङसँग सिंहबहादुरको ककटेल डिनर चल्ने गर्छ । उठबस पनि राम्र्रै छ । त्यो सम्बन्धलाई भजाएर सिंहबहादुुर आइजिपी हुने दाउमा छन् । 
सिहबहादुर अचेल भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र अर्का विदेशमा उद्योग व्यापार फास्टाएका शेष घलेको आशिर्वाद बोकेर चीन र एनआरएनको संयुक्त लगानीमा पैसा बोकेर हिड्ने गरेका छन् । सिंहबहादुरले अहिले गुरुङ र घलेलाई ‘तपाईहरुकै छोरी चेली बिहे गरेको व्यक्ति हुँ, यो पाली जसरी पनि आइजिपी हुनु पर्नेछ, सहयोग गर्नुस’ भन्दै हिँडने गरेको स्रोत बताउँँछ । 
विदेशमा कोर्स गरेर आउँदैमा माथिल्लो पोस्टमा पुग्ने ग्यारेन्टी हुँदैन । सिंहबहादुरलाई चीनको तालिमले नै माथि पुर्याउँछ भन्ने विश्वास जागेको छ । यस्तो विश्वासकै कारण उनी अहिले आइजिपी मै हुँ भन्न थालिसकेको चर्चाले बजार छपक्कै छ । धेरै तिरको शक्ति केन्द्र धाउने, पैसा बोकेर ढोका ढोको दौडिरहेका सिंहबहादुरको शैली देखेर संगठनमा धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् । (अमृतबजारबाट साभार)