बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आदिवासी सन्थाल समुदायकी द्रौपदी मुर्मु भारतको सर्वोच्च पदमा

शुक्रबार, साउन ६ २०७९

नयाँ दिल्ली । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छिन् ।

सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) की उम्मेद्ववार मुर्मु विहीबार राष्ट्रपतिमा विजयी भएकी हुन् ।

विजयीसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छिन् । यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो । मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो । 

झारखण्डको गभर्नर रहेकी द्रौपदी मुर्मुले यस चुनावमा पहिलो प्राथमिकतामा २ हजार ८२४ मत प्राप्त गरिन् । त्यसैगरी उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले पहिलो प्राथमिकतामा १ हजार ८७७ मत प्राप्त गरेका छन् ।

६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन् । उनी वर्षौंदेखि भारतीय जनता पार्टी (भाजपा)मा आबद्ध छन् । उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन् ।

भारतमा राष्ट्रपति चयन प्रक्रियामा संघीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित क्षेत्रमा व्यवस्थापिका संसद्का सदस्यले मतदान गर्छन् । भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ । 

सन् १९५८ को जुन २० मा मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा उनको जन्म भएको हो । यो भारतको सबैभन्दा पुरानो आदिवासी समूह हो । मर्मुले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरिन् । लगत्तै उनी सरकारी जागिरे भइन् । सन् १९७९ मा उनी सिंचाइ विभागमा सरकारी कर्मचारी थिइन् ।

सन् २००० मा उनी भाजपाको तर्फबाट राज्यसभामा निर्वाचित मुर्मु सन् २०१७ मा झारखण्ड राज्यको गभर्नर बनेकी थिइन् ।

द्रौपदी मुर्मुले जुलाई २५ मा राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ लिनेछिन्।

-एजेन्सी