काठमाडौँ – बैंक तथा फाईनान्स कम्पनीहरुलाई २१ दिने भित्रमा वित्तीय प्रतिवेदन सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बिहिबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दे आर्थिक बर्षको चौथो त्रैयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्न निर्देशन दिएको हो ।
आर्थिक वर्ष २०७७-७८को चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरिएको थियो । बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरु (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रयमासको महिना व्यतित भएको मितिले ७ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ । यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्ने, परिपत्रमा उल्लेख छ ।