बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्ड भावी प्रधानमन्त्री !

बुधबार, साउन ४ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछिको प्रधानमन्त्री बन्ने गरी लबिङ गरिरहेका छन् ।

उनले गरेको केही दिन अघिको भारत भ्रमण होस् या मंगलबार मात्रै तत्कालीन नेकपाका पाँच सचिवालय सदस्यको भेला गराएर होस् उनी भावी प्रधानमन्त्री आफैँ हुने कसरतमा छन् ।

उनले भारत भ्रमणका बेला सत्ता गठबन्धनमा चुनावपछि आलोपालो प्रधानमन्त्रीमा सहमति बन्न सक्ने खुलासा गरे । उनले विगतमा पनि भारत भ्रमणकै बेलामा आफू र केपी शर्मा ओलीबीच आलोपालो प्रधानमन्त्रीमा सहमति बनेको खुलासा गरेका थिए ।

सत्ता गठबन्धन दलका प्रमुखहरूले चुनावपछि संयुक्त सरकार बनाउने लक्ष्य लिएको लुकाएका छैनन्। तर भावी सरकारको नेतृत्वबारे प्रचण्डको पछिल्लो अभिव्यक्तिले चर्चा बढाइदिएको पाइन्छ। शेरबहादुरले पत्नी आरजु राणालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्नसक्ने आँकलन भइरहेका छन् । त्यसकै लागि उनले दिल्ली भेटघाटलाई जोडबल गरेको भन्ने गरिन्छ ।

सत्तामा रहेका वामशक्ति एकीकृत गरी काँग्रेससँग चुनावी तालमेल गर्न र आलोपालो प्रधानमन्त्रीको सहमति गराउन प्रचण्डले शर्त सारिसकेका छन् ।

चुनावपछि प्रधानमन्त्री बन्न प्रचण्ड सर्तसहित प्रस्तुत भएका छन् । विश्वस्त स्रोतका अनुसार प्रचण्ड चुनावपछिको प्रधानमन्त्री बन्न चाहन्छन् । उनले यस अघि नै सार्वजनिक रुपमा सो आशय व्यक्त गरिसकेका छन् । विश्वस्त स्रोतका अनुसार देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीका विषयमा एकप्रकारको सहमति भने भैसकेको छ ।

देउवालाई चुनावी सरकारको प्रधानमन्त्री बन्न सघाएकाले चुनावपछि आफूले पाउनुपर्ने शर्त प्रचण्डको देखिन्छ ।  सत्ता गठबन्धनले अबको ५ वर्ष सरकार चलाउने योजनासहित बढ्न खोजेका छन् । ५ वर्षमा को को प्रधानमन्त्री कति समय बन्ने र कहिले बन्ने भन्ने सहमति पनि हुनसक्छ । तर, त्यो सहमति बनाउन सजिलो छैन ।