बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला : प्रदीप ज्ञवाली

सोमबार, साउन २ २०७९

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन्  ।

सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताए । उनले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्नेकुरा मात्रै रहेको उल्लेख गरे । 

उपमहासचिव ज्ञवालीले आर्थिक हिसावले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी समेत गरे । उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको आरोप लगाए ।
उनले अहिलेको गठबन्धन सरकारलाई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तिय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए । उनले अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उल्लेख गर्दै हातहतियार सम्बन्धी सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा उल्लेखित वाक्य र व्यक्तिको दुःशासहसले नै अहिलेको गठबन्धनको तस्बीर देखाउने बताए । उनले भिडियो पुरानै भएको खण्डमा पनि अहिलेको सरकारको अवस्था त्यो भन्दा फरक नरहेको जिकिर गरे । 

उनले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराईमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पारे ।