काठमाडौं । सोमबार बिहान काठमाडौंमा वर्षा भएको छ । जसकारण ‘तापक्रम लगातार बढिरहेका बेला हल्का राहत’ महसुस भएको छ । उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन महाशाखाले गरेको छ ।
मंगलबार भने मनसुन केही सक्रिय भएर देशका विभिन्न क्षेत्रमा वर्षा हुनसक्ने अनुमान गरिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मंगलबार वर्षाको सम्भावना छ ।
मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार देशका पहाडी भू९भागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।