काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता वा तालमेल चाहेको भए कांग्रेसको पुच्छर समाउन छाडेर आउन नेकपा (माओवादी केन्द्र) लाई चुनौती दिएका छन्।
उनले राष्ट्रियता पक्षका काम गरेका कारण आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले तथ्य र प्रमाणहरु आफूसँग भएको उल्लेख गरे ।
उनले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोडनु परेको बताए ।
काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन बामपन्थी राजनीतिक दलहरुलाई ओलीले आग्रह समेत गरे । काँग्रेसको पुच्छर बनेर हिँडने, अनि बामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाई थियो ।
सोही कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेका थिए । त्यसको जवाफ दिँदै ओलीले काँग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै बामपन्थी दलहरुबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने बताए ।
अध्यक्ष ओलीले कम्युनिष्ट नेतृत्वको सरकार ढालेर हिँडनेहरु बामपन्थी हुनै नसक्ने बताउँदै भने एकताका लागि आफू तयार रहेको स्पष्ट पारे । उनले काँग्रेसलाई छोडेर बाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताए ।
यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु,’ उनले भने, ‘चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ?’ उनले माओवादीले आफू नेतृत्वको सरकार ढाल्न हदैसम्मको प्रयास गरेको स्मरण गरे ।
ओलीले नेपालको इतिहासमै सबैभन्दा बढी मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे । २००७ सादेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियमाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उनले त्यसयता वर्तमान काँग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए ।