काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले एसपीपी सम्झौता अस्वीकार गरेको पत्र तत्काल अमेरिकालाई लेख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकारले अमेरिका सँगको एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको भएपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको बताए । उनले सरकारले गरेको यसप्रकारको निर्णयको औपचारिक जानकारी अमेरिकी सरकार र सम्बन्धित प्रदेशलाई पत्राचारमार्फत तत्काल दिनुपर्ने बताए ।
श्रेष्ठले कुनैपनि सैनिक गठबन्धन वा शक्ति राष्ट्रहरुसँग अन्तर्निहीत हुने कुनैपनि कदम चाल्न सरकार तयार हुनु नहुने दिशामा अगाडि बढ्न अपील पनि गरे ।
सांसद श्रेष्ठले संसदबाट एमसीसी पारित गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको सम्बन्धमा पनि अमेरिकी सरकारले धारणा प्रष्ट नगरेकाले अमेरिकाको धारणा माग्न पत्राचार गर्नुपर्ने बताए ।
अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार नगरेमा एमसीसी सम्झौतालाई नयाँ ढंगले सोच्नुपर्ने उनको भनाइ छ ।
सांसद श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा(एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले उनले राजीनामा दिनुपर्ने बताए ।
गर्भनर अधिकारीले पद छोड्नु बेश हुने उनको भनाई छ ।